६ महिना जेल बसेर घर फर्किए, तीन महिनामै फैसला उल्टियो, भागेको ११ वर्षपछि पक्राउ परे

बागलुङमा हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका एक जना फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–९ का अन्दाजी ५५ वर्षका पिमबहादुर विक छन्। ६ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका उनलाई पुनरावेदन अदालतले फैसला उल्ट्याउँदै जन्मकैद सुनाएको हो।

उनीसमेतको संलग्नतामा ३० मंसिर २०६६ मा सोही स्थानका मनप्रसाद विकको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई शुक्रबार ढोरपाटन–९ रुद्रतालबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पिमबहादुरका साथै सोही स्थानका लालबहादुर विक र घमबहादुर विकको कुटपिटबाट घाइते भएका मनप्रसादको उपचारको क्रममा मृत्यु भएको थियो। मनप्रसादको मृत्युपछि कुटपिटमा संलग्न तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको थियो।

सुरुमा २८ वैशाख २०६७ मा बागलुङ जिल्ला अदालतले उनीहरूलाई भवितव्य कसुरमा ६/६ महिना कैद र ५/५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाका आधारमा उनीहरू कैद भुक्तान गरेका थिए। तर,  थुनामुक्त भएकाे तीन महिनामै १४ वैशाख २०६८ मा जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुनरावेदन अदालतले जन्मकैद हुने ठहर गरेको थियो।

पुनरावेदन अदालतको फैसलापछि जन्मकैदको लगत कट्टा गरी १३ वर्षको लगट कट्टा कस्नुुपर्ने थियो। सोहीअनुसार लालबहादुर र घमबहादुरले कैद भुक्तान गरे पनि ६ महिना कैद भुक्तान गरिसकेका पिमबहादुर भने पुनरावेदनको फैसलापछि फरार रहँदै आएका थिए।

पक्राउ परेका पिमबहादुरले थुनामा बसेको अवधि कट्टा गरेर बाँकी रहेको १२ वर्ष ६ महिना कैद भुक्तान गर्नुपर्ने बागलुङ प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर