प्रदीप र उदय : संसद्को ढोका ढकढक्याइरहेका दुई आशलाग्दा युवा

देशकै राजधानी काठमाडौं र यससँग जोडिएको अर्को जिल्ला ललितपुरमा यतिबेला नेपाली कांग्रेसका दुई आशलाग्दा युवा चुनावी मैदानमा छन् । काठमाडौंको क्षेत्र नं. ५ मा प्रदीप पौडेल र ललितपुर क्षेत्र नं. १ मा उदय शमशेर राणाले प्रतिनिधि सभाको सदस्यका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका पौडेलले राजनीतिक यात्रा निकै अगाडि बढाइसकेका छन् । यसअघि कांग्रेसको केन्द्रीय सदस्य भएका पौडेल पछिल्लो महाधिवेशनमा भने महामन्त्रीका उम्मेदवार थिए । उनले क्षेत्र नं. ५ मा एमालेका ईश्वर पोखरेललाई चुनौती दिएका छन् । पोखरेल २०६४ यताको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै आएका छन् ।

कांग्रेसमा हाल संस्थापन पक्षका भए पनि पौडेलले युवालाई राजनीतिक अवसरको पक्षमा जहिल्यै पनि आवाज बुलन्द पार्दै आएका छन् । कांग्रेसमै पनि विधिविधान र लोकतान्त्रिक पद्धति कायम गर्ने विषयमा उनले स्पष्ट धारणा राख्दै आएका छन् । त्यसैले संस्थापन पक्षजस्तो देखिए पनि पौडेल कांग्रेसमै बेलाबेलामा विद्रोही नेता जस्ता देखिन्छन् ।

कांग्रेसले इतिहास र विरासत भनेर मात्र नहुने, चुनाव जित्न एजेण्डा चाहिनेमा जोड दिँदै आएका पौडेल उक्त क्षेत्रमा पोखरेलको विरासत भंग गर्ने दाउमा छन् । तनहुँका पौडेल २०७४ को निर्वाचनमा सोही जिल्लाबाट प्रदेश सभा उम्मेदवार बनेका थिए । तर, माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग ५ मतले पराजित भएका थिए । प्रतिनिधि सभाको चुनाव उनको लागि पहिलो अनुभव हो ।

पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गर्दै आएका छन् । यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आईटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्ट्रिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।

‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवश्यक छ । पर्यावरणमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी राजनीतिक निष्ठा र इमानदारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिराशा छाएको छ । त्यसकारण मेरो संकल्प छ– म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उनले आफ्नो अपिलमा भनेका छन् ।

उनले आफूलाई प्राप्त भएको अवसर खेर नफाल्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृति स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ,’ उनले भनेका छन् ।

उदाउलान् उदय ?

ललितपुर–१ बाट कांग्रेसका नेता उदय शमशेर राणा चुनावी मैदानमा छन् । युवा तथा स्वच्छ छविका राणा कांग्रेसका अर्का आशलाग्दा युवा हुन् । पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका राणाले तेस्रोपटक ललितपुर–१ बाट उम्मेदवारी दिएका हुन् । उनी संविधान सभाको दोस्रो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यही क्षेत्रबाट एमालेका नवराज सिलवाल पनि उम्मेदवार छन् । पूर्व प्रहरी नायब महानिरीक्षक सिलवाल यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी प्रहरीभित्र र बाहिर कीर्ते काण्ड र मिटरब्याज काण्डमा मुछिएका विवादास्पद प्रहरी अधिकृत हुन् ।

त्यतिबेला वामगठबन्धनका कारण पराजित हुन पुगेका राणा यसपटक भने सिलवाललाई हराएर पुनः संसद्मा पुग्ने दाउमा छन् । उनलाई यसपटक माओवादी र नेकपा एकीकृत समाजवादी दलको पनि समर्थन छ । अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९५१ मत पाएका थिए भने कांग्रेसका राणाले २० हजार ७२९ मत पाएका थिए । उनीहरूबीच करिब ६ हजार भोटको मतान्तर रहेको थियो ।

ललितपुर क्षेत्र नम्बर १ मा गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्म र वडा नम्बर १३ पर्छ । वडा नम्बर १२ र १४ क्षेत्र नम्बर २ मा पर्छ । यस्तै कोञ्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका र महाँकाल गाउँपालिका पर्दछ ।

यसअघि गरेका कामहरू नै आफ्नो जितको प्रमुख आधार भएको राणा बताउने गर्छन् । ‘यहाँका जनताले २०७० सालपछि र २०७४ सालपछि कसको पालामा धेरै विकास भयो यसका जनताले पनि मूल्यांकन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राणाले दक्षिण ललितपुरको विकासका लागि सडक पूर्वाधारमा जोड दिएका छन् । काठमाडौंसँग जोडिए पनि राम्रो सडक नहुँदा विकासमा दक्षिण ललितपुर पछाडि परेको उनको भनाइ छ । उनले गुणस्तरीय र व्यवस्थित सडक निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘दक्षिण ललितपुरको विकासका लागि चारवटा सडकलाई मैले प्राथमिकतामा राखेको छु । यी सडकलाई व्यवस्थित बनाउन सकियो भने यहाँ विकासको ढोका खुल्छ । कृषि र पर्यटनमा यो क्षेत्रले फड्को मार्ने मैले विश्वास लिएको छु,’ राणाले भने । उनले लेले–चन्दनपुर सडकखण्डलाई यथाशक्य चाँडो कालोपत्रे गराउन आफूले भूमिका निर्वाह गर्ने बताए ।

उनले २०७४ सालको निर्वाचनमा संघ र प्रदेशबाट निर्वाचित सांसदले बेवास्ता गर्दा सडक जीर्ण बनेको आरोप लगाए । ‘यो पाँच वर्षमा न संघबाट बजेट आयो, न प्रदेशबाट । यो बाटो बनाउने दायित्व गाउँपालिकाको होइन । केन्द्रीय र प्रदेश सरकारकै हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *