अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार नगर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको चेतावनी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।

सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरूप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्यालगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन् ।

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्र हत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।

उनले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरू भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरू भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई विथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरू राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरूको ध्यानाकर्षण गराएको बताए ।

उनले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्र हुन जरुरी रहेको पनि बताए । उनले अँध्यारो कोठामा बसेर निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरूलाई उम्मेदवारहरूको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाइ गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए । उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरूलाई निर्वाचनसम्बन्धी सूचनाहरू प्रचारप्रसार गरिदिन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले कलाकारहरूले आचारसंहिताको उल्लंघन नगर्ने कुरामा आयोग विश्वस्त रहेको पनि बताए । उनले लोकतन्त्रलाई जोगाउने आन्दोलनमा पुनः एकपटक निर्वाचन अभियानको सडकमा कलाकारलाई देख्न पाउने आशामा आयोग रहेको बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई उदाहरणीय बनाउनका लागि कलाकारहरूले आयोगका सूचनाहरू नागरिकसमक्ष प्रवाह गर्ने कुरामा सहयोगको ठूलो अपेक्षा राखेको बताए । उनले आसन्न निर्वाचनमा वृद्धवृद्धा, रोगी, शारीरिक अशक्तता भएका व्यक्तिहरूको सहजताका लागि पनि उचित व्यवस्था मिलाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर