भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले गए राति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं. ३ गैरागाउँमा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी घाइते भएकाहरूलाई यथाशीघ्र अस्पतालसम्म पर्‍याई उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई भनेका छन्।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएक छन्।

उनले भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन् । भूकम्पमा परी मृत्यु भएकाहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गृहमन्त्री खाणले समवेदना व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर