‘बालेनले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका हुन्।

उनले काठमाडौं उपत्यकाका मेयर बालेन शाहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए। उनले एक नागरिक आयोग गठन गरी वि.सं. २०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताए।

अध्यक्ष लिङ्देनले भ्रष्टाचारको विरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे। उनले आफू संसद्मा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसद्मा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे। आफूले पाँच वर्ष संसद्मा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरूलाई पनि जिताउन उनले आग्रह गरे।

‘बालेनले काठमाडौंको अवैध संरचनाहरूमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरूमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर। फागुनसम्म अस्तिका सबै सांसदहरूले तलबभत्ता पाइराख्ने, दशैं पेस्की पाइराख्ने विधेयक ल्याए। एउटा राजेन्द्र लिङ्देन मैले भनेँ– अनुचित मात्रै होइन घोर अनैतिक काम भयो। योभन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन।’

अध्यक्ष लिङ्देनले पुराना दलहरूलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे। उनले कांग्रेस र कम्युनिष्ट मतदाताहरूलाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *