गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले नेपाल कता जाने हो भन्ने कुराको फैसला गर्ने बताएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं १० ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ठूलो सङ्घर्षपछि प्राप्त भएको संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको बताए।

प्रधानमन्त्रीले भने, “यो राष्ट्रले धेरै ठूलो लडाइँपछि संविधान पाएको छ। पद्धति पाएको छ। संविधानले नै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको छ। आदिवासी, जनजाति सबैलाई हक दिएको छ। यो समावेशी संविधान मात्रै नभई सबै समावेशी लोकतन्त्र पनि छ।”

सबै वर्ग तथा क्षेत्र अटाउने संविधानलाई बचाउने लक्ष्यका साथ गठबन्धन बनेको उनको भनाइ छ। प्रधानमन्त्रीले भने, “हाम्रोमा स्थापित भएको समावेशी प्रजातन्त्र र राजनीतिलाई बचाई राख्नु छ। नेपाली जनताले निर्वाचनमार्फत सरकार बनाउन पाउने, बदल्न पाउने अधिकार पाएका छन्। यो महत्त्वपूर्ण छ। यसलाई स्थायी राख्न पनि हामी एक ठाउँमा उभिएका छौँ।”

प्रधानमन्त्री देउवाले जथाभावी तरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद् भङ्ग गरेपछि आफूहरू मिलेर त्यसलाई बचाएको दृष्टान्त पेश गरे।

प्रधानमन्त्रीले भने, “दुई पटक संसद् भङ्ग गर्न थालेपछि हामीले प्रजातन्त्र बचाएका हाँै। लोकतन्त्र र समावेशी प्रजातन्त्र बचाएका हौँ। यसलाई स्थायी बनाउन गठबन्धन बनेको छ।”

गठबन्धनको एउटै शर्त स्थायी लोकतन्त्रलाई समृद्ध पार्नु रहेको उल्लेख गर्दै उनले जनताले पाएको अधिकार कमजोर गर्न नसकोस् र हटाउन नसकोस् भनेर गठबन्धन बनेको उल्लेख गरे। उनले गठबन्धन आगामी १० देखि १५ वर्षसम्म जाने विश्वास व्यक्त गरे।

स्थायी शान्ति र लोकतन्त्रको संवर्द्धनका लागि गठबन्धन अपिरहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले सडक विस्तारका क्रममा समस्यामा परेका स्थानीयबासीलाई मुआब्जा दिने विश्वास दिलाए।

“कसैको पनि सम्पत्ति बिना मुआब्जा भत्काउन पाइँदैन। भत्काउन त पाइन्छ, तर मुआब्जा दिएपछि मात्रै”, प्रधानमन्त्रीले भने, “अब मुआब्जा दिलाउने काम उहाँ (सो क्षेत्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन केसी)को हो ।”

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्दै मुलुकको सर्वाङ्गीण विकासका लागि गठबन्धनको जीत जरुरी रहेको बताए।

विकास र समृद्धिको गति अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रको विकासका लागि पनि आफूले ध्यान केन्द्रित गरेको बताए। उनले व्यापार घाटा कम गर्दै बेरोजगारीको अन्त्य र परनिर्भरताको अन्त्य गर्न लगानीको विस्तार जरुरी रहेकामा जोड दिए।

सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार केसीले मुलुकको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। उनले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने बताए। उनले आफू ठोस योजना र कार्यक्रमसहित जनताको बीचमा आएको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *