आइसल्याण्ड भ्रमण सकेर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमण गरेर स्वदेश फर्किएकी छन्। राष्ट्रपति भण्डारी शनिबार बिहान पौने ८ बजे स्वदेश आइपुगेकी हुन्।

आइसल्याण्ड भ्रमण सकेर स्वदेश फर्केकी भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरे।

राष्ट्रपति भण्डारीले आइसल्याण्ड भ्रमणका क्रममा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी थिइन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लूपीएल)’ले गत बुधबारर राष्ट्रपति भण्डारीलाई अवार्डले सम्मान गरेको थियो ।

डब्लूपीएलकी संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्डबाट सम्मान गरेकी थिइन्।

आइसल्याण्ड भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राजनीतिक व्याक्तित्वहरूसँग पनि भेट गरेकी थिइन्।

आइसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरूमा लगानी गरिरहेको बताएकी थिइन्।

उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरूमा एक तिहाइ महिलाहरूको प्रतिनिधित्वको सुनिश्चितता गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको बताएकी थिइन्।

नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरूजस्ता क्षेत्रमा महिलाहरूको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको र सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह तथा कुरीतिविरुद्धको लडाइँ जित्न बाँकी नै रहेको उल्लेख गर्दै नेपालले त्यसका लागि अटल र इमानदार प्रयासलाई जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन्।

राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर