चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा, बैतडी र अछाम जाँदै देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। सभालाई सम्बोधन गर्न उनी आज गृहजिल्ला जाँदैछन्।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार प्रधानमन्त्री देउवाले साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म यहाँ बसेका थिए। सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उहाँ प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। प्रतिनिधि सभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन्।

उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन्।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दोस्रोपटक बैतडी जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले आज सत्ता गठबन्धनद्वारा बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

चुनावी सभाको तयारी पूरा भएको सत्ता गठबन्धनका चुनाव प्रचारप्रसार संयोजक एवं नेपाली कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए। सो सभालाई उहाँसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गरेका थिए।

बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेश सभा (१) मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेश सभा (२) मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *