चुनावको मौका छोपेर बसुन्धारामा लुटपाट, १० जना पक्राउ, ३८ तोला सुन र २ लाख नगद बरामद

चुनावको मौका छोपेर काठमाडौं महानगरपालिका–३ बसुन्धारामा लुटपाट भएको छ। लुटपाट गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

उनीहरूले कात्तिक २८ गते बेलुका ६ः३० बजे बसुन्धारास्थित बंगलादेशी दूतावास पछाडिपट्टि रहेको नन्दा मल्लको घरमा हाततियारसहित प्रवेश गरेर लुटपाट गरेको आरोप छ। लुटपाटपछि फरार रहेका उनीहरूलाई प्रहरीले कात्तिक ३० गते पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गुल्मीको मालिका गाउँपालिका स्थायी घर भई भक्तपुर बस्ने २६ वर्षीया सुना जिसी, कालीकोटको महावै गाउँपालिका–२ स्थायी घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय गोपाल सिंह, सोही गाउँपालिका–३ स्थायी घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३२ वर्षीय पर्वराज सिंह, कालीकोटको तिलागुफा नगरपालिका–११ स्थायी घर भई नयाँ बसपार्क बस्ने २३ वर्षीय गंगबहादुर शाही, जुम्लाको हिमा गाउँपालिका–१ स्थायी घर भई काठमाडौं सुन्धारा बस्ने २० वर्षीय विशाल शाही रहेका छन्।

यस्तै कालीकोटको तिलागुफा नगरपालिका–११ स्थायी घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २४ वर्षीय तिलकबहादुर शाही, सोही नगरपालिका–९ स्थायी घर भई भक्तपुर कौशलटार बस्ने २९ वर्षीय धनबहादुर शाही, रामेछापको दोरम्बा गाउँपालिका–६ स्थायी घर भई काठमाडौं बानेश्वर बस्ने २४ वर्षीय सुवर्ण मगर, कालीकोटको तिलागुफा नगरपालिका–३ स्थायी घर भई भक्तपुर सल्लाघारी बस्ने २६ वर्षीय राजेन्द्रबहादुर शाही र कालीकोटको खाँडाचक्र नगरपालिका–१० स्थायी घर भई सल्लाघारी बस्ने २६ वर्षीय नेत्रबहादुर रहेका छन्।

लुटपाटमा संलग्न पवन सिंह भने फरार रहेको उनको भक्तपुर बालकोटस्थित कोठाबाट २ लाख १३ हजार ५ सय रुपैयाँ नगद, अन्दाजी ३८ तोलाको सुनको गिलास १ थान, सुनको नौगेडी २ थान, तिलहरी १ थान, विभिन्न धातु र रत्न जडित हार ३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

फरार पवन सिंहको खोजी र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर