स्थगन भएकामध्ये दुई स्थलमा मतदान जारी, अन्य ११ मा सहमतिपछि हिजै सम्पन्न

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगित भएकामध्ये दुई मतदानस्थलमा आज मतदान भइरहेको छ ।

स्थगित भएकामध्ये नवलपरासीपूर्व जिल्लाको देवचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयमा आजै मतदान कार्य प्रारम्भ भएको छ भने सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पस र गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनीमा यही मङ्सिर ६ गते मतदान हुने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगले प्रारम्भिक सूचनामा स्थगित भएका मतदानस्थलको सङ्ख्या १५ भनिएकामा आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो अद्यावधिक जानकारीअनुसार चार वटा मतदानस्थलमा मात्र स्थगित देखिएको छ । स्थगित भएका १५ वटा मतदानस्थलमध्ये बाजुराका ११ वटा मतदान स्थलमा मङ्सिर ४ गते नै राजनीतिक सहमतिबाट पुनः मतदान प्रारम्भ भई मतदान सम्पन्न भएको छ ।

स्थगित भएकामध्ये बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–५ स्थित नन्देश्वरी मावि, पीपलचौर मतदान केन्द्रमा मात्रै पुनःमतदानको मिति तय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *