आमनिर्वाचन-२०७९

काठमाडौंमा कांग्रेसले सिट बढाउँदा एमाले खुम्चियो, घन्टीको उत्साहपूर्ण प्रवेश

अघिल्लो प्रतिनिधिसभाको निर्वाचनको तुलनामा काठमाडौंमा सिट संख्या बढाउँदै कांग्रेसले आफ्नो विरासतलाई कायम राखेको छ भने एमाले एउटा सिटमा खुम्चिएको छ । २०७४ को निर्वाचनमा काठमाडौंका ४ वटा क्षेत्रमा जितेको कांग्रेसले यसपटक ५ क्षेत्रमा जित हासिल गरेको हो । त्यतिबेला वाम गठबन्धनबाट चुनाव लडेको एमालेले ६ स्थानमा जितेकोमा यसपटक एउटा सिटमै चित्त बुझाउनु परेको छ ।

अर्कोतर्फ, ५ महिनाअघि मात्र अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक रुपमा काठमाडौंका चार क्षेत्रमा जित हासिल गर्दै संसदीय यात्रामा उत्साहपूर्ण प्रवेश पाएको छ । दलहरुप्रतिको वितृष्णाको मतलाई ‘क्यास’ गर्न सक्दा कांग्रेस र एमालेले जितेको क्षेत्रमा रास्वपा उदाएको हो । त्यसबाहेक नेकपा माओवादी केन्द्र लगायत अन्य पुराना दल भने राजधानीमा जित हासिल गर्न असफल भए ।

यसपटक कांग्रेसले काठमाडौं–१, ३, ४, ५ र १० मा गरी पाँच क्षेत्रमा जित हासिल गरेको छ । रास्वपाले काठमाडौं–२, ६, ७ र ८ मा जितेको छ भने एमालेले ९ नम्बर क्षेत्रमा जित दर्ता गरेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने एमालेले काठमाडौंका ६ क्षेत्र २, ३, ५, ७, ८ र ९ मा जित प्राप्त गरेको थियो । त्यतिबेला कांग्रेसले ४ वटा क्षेत्र १, ४, ६ र १० मा जित हासिल गरेकोमा यसपटक एउटा सिट बढाएको हो ।

यी हुन् काठमाडौंले जिताएका अनुहारहरु :

प्रकाशमान सिंह
कांग्रेसका प्रकाशमान सिंहले काठमाडौं–१ मा लगातार चौंथोपटक जित हासिल गरेका छन् । यसअघि २०६४, २०७० र २०७४ का निर्वाचनहरुमा पनि सिंह सोही क्षेत्रमा विजयी भएका थिए । कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरासमेत रहेका प्रकाशमान कांग्रेसका सक्रिय नेता हुन् ।
उनी ७ हजार १ सय ४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरेका हुन् । मिश्रले ७ हजार ०१८ मत ल्याएका छन् । यसअघिको निर्वाचनमा पनि सिंहले मिश्रलाई पराजित गरेका थिए ।

सोबिता गौतम
रास्वपाकी २७ वर्षीया नेतृ सोबिता गौतम कार्यक्रम प्रस्तोता तथा कानुन व्यवसायी हुन् । गौतम पहिलोपल्ट प्रतिस्पर्धा गरेको प्रतिनिधिसभाको निर्वाचनमा नै विजयी हुन सफल भएकी छन् । गौतम १५ हजार २ सय २९ मत ल्याई विजयी भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मणिराम फुयाललाई ३ हजार ६ सय ७४ मतान्तरले पराजित गरेकी हुन् । पराजित फुयालले ११ हजार ५ सय ५५ मत ल्याएका छन् । यसअघिको निर्वाचनमा सो क्षेत्रमा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल विजयी भएका थिए ।

सन्तोष चालिसे
काठमाडौं– ३ मा कांग्रेसका सन्तोष चालिसे १५ हजार १ सय ५८ मत ल्याई विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कृष्णबहादुर राईलाई ३ हजार ९ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले ११ हजार १ सय ९६ मत ल्याएका छन् । यसअघिको निर्वाचनमा सो क्षेत्रमा एमालेका राईले जितेका थिए ।

गगनकुमार थापा
नेपाली राजनीतिका चिरपरिचित तथा चर्चित अनुहार गगनकुमार थापाले काठमाडौं–४ मा आफ्नो जितलाई निरन्तरता दिएका छन् । यसअघिका निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनले यसपटक २१ हजार ३ सय २ मत पाए । उनले प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले १३ हजार ८ सय ५५ मत ल्याएका छन् ।

प्रदीप पौडेल
तनहुँका बासिन्दा तथा कांग्रेसका युवा नेता प्रदीप पौडेल पहिलोपल्टमै प्रतिनिधिसभा निर्वाचनको परीक्षामा उत्तीर्ण भएका छन् । उनले काठमाडौं–५ बाट जित्दै आएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका छन् । निर्वाचन आयोगका अनुसार पौडेल १५ हजार २ सय ३७ मत ल्याई विजयी भएका छन् । पोखरेलले १० हजार १ सय ७५ मत ल्याएका छन् । यसअघि पोखरेलले सोही क्षेत्रबाट चुनाव जितेका थिए ।

शिशिर खनाल
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार खनालले १४ हजार २ सय ४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्व आईजीपी तथा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत पाएका छन् । यसअघि कांग्रेसका भीमसेनदास प्रधानले सो क्षेत्रमा जित हासिल गरेका थिए ।

गणेश पराजुली
रास्वपाले जित हासिल गरेको अर्को क्षेत्र हो, काठमाडौं–७ । उक्त पार्टीका उम्मेदवार गणेश पराजुली ८ हजार ७ सय ४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । यसअघि यस क्षेत्रमा एमालेका रामवीर मानन्धर विजयी भएका थिए ।

विराजभक्त श्रेष्ठ
यसअघि वाग्मती प्रदेशसभा सदस्य भइसकेका विराजभक्त श्रेष्ठ रास्वपाको तर्फबाट काठमाडौं–८ मा विजयी भएका छन् । सामाजिक अभियन्ता श्रेष्ठले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई पछि पारेका हुन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठ १० हजार १०५ मत ल्याई विजयी भएका छन् । सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । एमालेका जीवनराम श्रेष्ठले यसअघिको निर्वाचनमा सो क्षेत्रबाट जितेका थिए ।

कृष्णगोपाल श्रेष्ठ
पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९ मा विजय हासिल गर्दै एमालेको साख जोगाएका छन् । काठमाडौंमा एमालेले जितेको यो एक मात्र क्षेत्र हो । श्रेष्ठ ११ हजार ९ सय ५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा पनि यो क्षेत्रमा श्रेष्ठले जितेका थिए ।

राजेन्द्रकुमार केसी
काठमाडौं–१० मा पुरानै अनुहार राजेन्द्रकुमार केसीले जित हासिल गरेका छन् । यसअघिका निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुँदै आएका कांग्रेस नेताले यसपटक १४ हजार ४ सय ४८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर