आमनिर्वाचन-२०७९

खोटाङमा माओवादीका पासाङले ‘ह्याट्रिक’ जित निकाल्दा एमालेका विशालको ‘ह्याट्रिक’ हार

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राईले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६ सय ६९ मतान्तरले पराजित गरेका हुन्।

बिहीबार दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार राईले ३१ हजार ३ सय ५१ मत प्राप्त गरेका छन्।

भट्टराईले २८ हजार ६ सय ८२ मत पाए। जनता समाजवादी पार्टीका कृष्णकुमार राईले १ हजार ९ सय १४, राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १ हजार ७ सय ६१ मत ल्याए भने अन्य उम्मेदवारले हजार मत कटाउन सकेनन्।

राईको ‘ह्याट्रिक’ जितमा भट्टराईको ‘ह्याट्रिक’ हार
संसदीय निर्वाचनमा राईको यो तेस्रो अर्थात् ‘ह्याट्रिक’ जित हो भने भट्टराईको ‘ह्याट्रिक’ हार हो।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री राई यसअघि ०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचन र ०७४ सालकाे प्रतनिधि तथा प्रदेश सभा निर्वाचनमा खोटाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित भएका थिए।

एमाले पोलिटबयूरो सदस्य, संसदीय दलका प्रमुख सचेतक भट्टराई भने ०५६ सालदेखि लगातार खोटाङबाट चुनाव लड्दै आएका छन्।

०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई ०७० को दोस्रो संविधान सभा र ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर