प्रदेश मुख्यमन्त्रीको दाबेदारीसहित दैलेख २ (१) मा एमालेका शाह विजयी

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१) बाट नेकपा (एमाले)का विनोदकुमार शाह विजयी भएका छन्। शाहले नेकपा (माओवादी केन्द्र)का योगेन्द्रबहादुर शाहीलाई ८६ मतले हराएका हुन्।

शाहले जम्मा खसेको मत २२ हजार दुई सय ८२ गणना गर्दा नौ हजार चार सय ६४ मत पाए। माओवादीेका शाहीले नौ हजार तीन सय ८१ मत प्राप्त गरे।

प्रदेश सभामा निर्वाचित शाह पूर्वराज्यमन्त्रीसमेत हुन्। यस्तै राप्रपा पार्टीका ज्ञानेन्द्र शाहीले चार हजार ९० र नेमकिपाका जयबहादुर शाहीले तीन हजार दुई सय ५५ मत प्राप्त गरे।

प्रदेश सभामा निर्वाचित शाहलाई कर्णाली प्रदेशको मुख्यमन्त्री दाबेदारका रूपमा लिइएको छ। यसमा सत्ता गठबन्धनका केही नेता र विपक्षी अन्य केही नेताहरूले पनि आफूलाई प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा दाबी गरेका छन् ।

२०७४ को निर्वाचनपछि प्रदेशको पहिलो कार्यकाल माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले चलाउने मौका पाएका थिए। तत्कालीन वाम गठबन्धनको भागबण्डाका कारण शाहीले मुख्यमन्त्री बन्ने सौभाग्य पाएका थिए।

र, याे पनि-

कर्णाली प्रदेशमा अबको मुख्यमन्त्री शाही कि शाह ?

एमालेतर्फका यामलाल कँडेलले यसबीचमा मुख्यमन्त्री बन्न प्रयास गर्दै आफ्नै पार्टी अर्थात् तत्कालीन नेकपाका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पनि संसद्मा पेस गरेका थिए। तर, उनी मुख्यमन्त्री बन्न सफल भएनन्।

नेकपा विभाजनपछि भने यहाँ गठबन्धनको बलमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने। अब पनि मुख्यमन्त्री बन्ने दाबी गर्दै शाहीले प्रदेश सभामा उम्मेदवारी दिएका छन् । कांग्रेस हुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ एकल उम्मेदवारको रूपमा शाहीलाई सिफारिस गरे पनि उनले प्रदेश रोजेका हुन्। उनको प्रतिस्पर्धा एमालेका छक्कबहादुर लामासँग छ।

कांग्रेसमा मुख्यमन्त्रीको अन्य आकांक्षीमा जुम्लाका ललितजंग शाही, जजारकोटका राजीवविक्रम शाह छन्।

एमालेबाट भने दैलेख क्षेत्र नं. २ (१) बाट निर्वाचित विनोद शाहको सम्भावना बलियो छ। उनी हाल एमालेको कर्णाली प्रदेश अध्यक्षसमेत हुन्। एमालेमा मुख्यमन्त्रीका अर्का आंकाक्षी यामलाल कँडेल पनि छन्। तर, विगतमा कँडेलले आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शाहलाई यसपटक रोजेको स्रोतको भनाइ छ।

शाह जनस्तरमा भिजेका नेता हुन् र उनी सोही क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *