कर्णाली प्रदेशमा अबको मुख्यमन्त्री शाही कि शाह ?

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा कर्णालीमा भावी मुख्यमन्त्री को होला भन्ने चासो बढेको छ । सत्ता गठबन्धनका केही नेता र विपक्षी नेताहरुले आफूलाई प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा दाबी गरेका छन् ।

२०७४ को निर्वाचनपछि प्रदेशको पहिलो कार्यकाल माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले चलाउने मौका पाएका थिए । तत्कालीन वाम गठबन्धनको भागबण्डाका कारण शाहीले मुख्यमन्त्री बन्ने सौभाग्य पाएका थिए ।

एमालेतर्फका यामलाल कँडेलले यस बीचमा मुख्यमन्त्री बन्न प्रयास गर्दै आफ्नै पार्टी अर्थात् तत्कालीन नेकपाका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पनि संसदमा पेस गरेका थिए । तर, उनी मुख्यमन्त्री बन्न सफल भएनन् ।

नेकपा विभाजनपछि भने यहाँ गठबन्धनको बलमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने । अब पनि मुख्यमन्त्री बन्ने दाबी गर्दै शाहीले प्रदेशसभामा उम्मेदवारी दिएका छन् । कांग्रेस हुम्लाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारको रुपमा शाहीलाई सिफारिस गरे पनि उनले प्रदेश रोजेका हुन् । उनको प्रतिस्पर्धा एमालेका छक्कबहादुर लामासँग छन् ।

पहिलो कार्यकाल थोरै भएको र धेरै काम अधुरा रहेकाले ती पूरा गर्न पनि आफू मुख्यमन्त्री बन्ने उनले बताए । जडीबुटी, जल, जंगललाई प्राथमिकता दिएर यसअघिको चुनावमा उम्मेदवारी दिएका उनले कर्णाली प्रदेश देशकै नमुना प्रदेश बन्न सक्ने बताएका थिए । तर प्रदेश सरकारले पाउनुपर्ने जति अधिकार नपाएका कारण आफू पदमा पुगे पनि सोचेजस्तो काम गर्न नसकेको उनको भनाइ छ ।
कांग्रेसमा मुख्यमन्त्रीको अन्य आकांक्षीमा जुम्लाका ललितजंग शाही, जजारकोटका राजीवविक्रम शाह छन् ।

एमालेबाट भने दैलेख क्षेत्र नं. २ (१) बाट उम्मेदवार विनोद शाहको सम्भावना बलियो छ । उनी हाल एमालेको कर्णाली प्रदेश अध्यक्षसमेत हुन् । एमालेमा मुख्यमन्त्रीका अर्का आंकाक्षी यामलाल कँडेल पनि छन् । तर, विगतमा कँडेलले आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शाहलाई यसपटक रोजेको स्रोतको भनाइ छ ।

प्रदेशसभामा पहिलो मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही अहिले प्रतिनिधि सभाका लागि चुनावी मैदानमा छन् । माओवादीबाट यसपटक विन्दमान विष्ट र राजकुमार शर्मालाई मुख्यमन्त्रीको दाबेदार मानिएको छ ।

विष्ट सुर्खेत–२ (२) बाट प्रदेशसभाका उम्मेदवार छन् । उनको प्रतिस्पर्धीमा एमालेका ताराकेशर गौतम छन् । शर्मा भने रुकुम पश्चिम–१ (२) बाट उम्मेदवार छन् । उनको प्रतिस्पर्धीमा एमालेका कर्णबहादुर घर्ती छन् । उनी माओवादी उपमहासचिव जनार्दन शर्माका नजिक मानिन्छन् । शर्मा माओवादी कर्णाली प्रदेश कमिटीका पूर्वअध्यक्ष पनि हुन् ।

कर्णालीमा प्रत्यक्षतर्फ २४ सिट र समानुपातिकतर्फ १६ गरी ४० सिटका लागि मतदान हुने भएको छ । प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यसअघिको निर्वाचनमा एमालेका २० जना प्रदेश सांसद थिए । माओवादीका १३, कांग्रेस ६ र राप्रपाका १ जना सांसदले जितेका थिए । पछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए पनि छभने कारबाहीका कारण प्रदेश सभामा ३४ सदस्य कायम भएका थिए । तीमध्ये २२ जना मन्त्री बनेका थिए ।

पहिले वाम गठबन्धनले धेरै सिट जितेको यो प्रदेशमा यसपटक सत्ता गठबन्धनका कारण यसका उम्मेदवारलाई सहज छ । त्यसैले चुनावी परिमाण सत्ता गठबन्धनको पक्षमा आएमा यिनकै उम्मेदवार मुख्यमन्त्री बन्नेछन् । तर, गठबन्धनले हालसम्म प्रदेशमा भागबण्डा गर्नुपर्ने अवस्था आए कसले कुन प्रदेश लिने भन्ने तय गरेका छैनन् ।

यसअघिको भागबण्डामा भने प्रदेश १ नेकपा एस, मधेस जसपा, वाग्मती नेकपा एस, गण्डकी कांग्रेस, लुम्बिनी माओवादी केन्द्र, कर्णाली कांग्रेस र सुदूरपश्चिम माओवादी केन्द्रले पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर