धनुषा–२ मा कांग्रेसः एक सय ५७ मत बढी ल्याएर यादव निर्वाचित

धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा एक सय ५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका नेता यादवले २० हजार एक सय १२ मत प्राप्त गरे भने एमालेका अरगरियाले १९ हजार नौ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी) का पूर्वमन्त्री रामचन्द्र झाले १३ हजार छ सय पाँच मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका गङ्गाराम यादवले १२ हजार नौ सय एक मत प्राप्त गरे भने जनमत पार्टीका जयनारायण साहले नौ हजार नौ सय ९२ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित यादव विसं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवले नौ महिना कृषिमन्त्री रहेका बेला कृषिमा आधुनिकीकरण गर्न सिँचाइका लागि धनुषामा प्रत्येक किसानको खेतमा सानो सेलोट्युबेल जडान गराएका थिए । त्यस्तै किसानका लागि प्रधानमन्त्री कार्यक्रमअन्तर्गत धानजोन र मत्सय जोन कार्यक्रम ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *