माओवादीका उपमहासचिव पुन चीन जाँदै, वाम गठबन्धन ब्युँताउने चिनियाँ प्रयासको आशंका ?

हालै रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीन प्रस्थान गर्ने भएका छन् । यसअघि आफ्नो उपचारका लागि पटकपटक चीन गएका पुन यसपालि चुनावलगत्तै त्यसतर्फ जान लागेका हुन् । उनी उपचारका लागि जाने भनिए पनि चीनले उनको भ्रमणलाई फेरि एकपटक भरपुर उपयोग गर्न सक्ने आशंका राजनीतिक वृत्तमा चलेको छ ।

पारिवारिक स्रोतका अनुसार पुन आफ्नो स्वास्थ्योपचारको फलोअपका लागि चीन जान लागेका हुन् । काठमाडौंबाट नियमित उडान सुरु नभइसकेकाले उनी हिमालयन एयरको कार्गो विमानबाट सम्भवतः आजै वा मंगलबार त्यसतर्फ जाने भएका छन् ।

यसअघि जन्डिसको उपचारका लागि पुन चीनको सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा भर्ना भएका थिए । उनी गत माघ १० मा स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका थिए ।

तर, भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएकाले पुनले राजनीतिक भेटघाट र छलफल पनि गर्न सक्ने अनुमान गरिएको छ । निर्वाचनको मतगणना अन्त्यतिर आइपुग्दा हालसम्म कुनै पनि दलको बहुमत नआउने देखिएको छ । यस्तै, वर्तमान सत्ता गठबन्धनलाई पनि बहुमत पु¥याउने हम्मे पर्ने देखिएको छ ।

सत्ता गठबन्धनमा हाल रहेको कांग्रेस सबैभन्दा ठूलो पार्टी हुने भएको छ । माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा जस्ता गठबन्धनका दलका उम्मेदवार पनि विजयी भएका छन् । तर, बहुमत नपुगेकाले दलहरु पुनौ सत्ता गठबन्धनलाई कायम राख्छन् कि अन्य पार्टीसँग सहकार्यका लागि अघि बढ्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

शनिबार मात्रै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भावी सरकार गठनका लागि भेटवार्ता भएको छ । वार्तामा सत्ता गठबन्धनलाई अघि बढाउने बारे मोटामोटी सहमति भएको छ । तर, माओवादीका उपमहासचिव पुन चीन गएकाले त्यहाँ वाम गठबन्धन ब्युँताउनेबारे छलफल हुनसक्ने अनुमान गरिएको छ ।

चीनले विगतमा नेपालका कम्युनिस्ट दलहरुलाई एक स्थानमा ल्याउन भूमिका खेलेको थियो । तर, एमाले र माओवादीबीच एकता भई बनेको नेकपा पुनः विभाजित भएपछि चीनको प्रयास व्यर्थ साबित भएको थियो । हालै सम्पन्न चुनावका लागि चीनले वाम गठबन्धन गराउन पनि कोसिस गरेको थियो । तर, दलहरु नमानेपछि गठबन्धन हुन सकेन ।

चिनियाँ सरकार स्वामित्वमा रहेका ठुला परियोजनासँगै नेपालमा आफ्नो दबदबा कायम राख्न उसले माओवादी केन्द्र र एमालेका नेताहरुलाई विभिन्न कोणबाट प्रभावमा राख्दै आएको छ ।

अहिले नेपालमा चिनियाँ राजदूतको पद रिक्त छ । यसअघिकी राजदूत होउ यान्छीको स्थानामा चीनले वरिष्ठ कूटनीतिज्ञ छन सोङलाई पठाउने तयारी गरेको छ । यस्तो अवस्थामा नेपालमा पुनः वाम गठबन्धनमा सरकार बनाउन चीनले पुनसँग छलफल गर्न सक्ने अनुमान छ । चीनले विगतमा नेपालका कम्युनिस्ट पार्टीहरुलाई एक बनाउन प्रयास गर्दै आएको छ ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गर्दै मिलेर सरकार बनाउन आग्रह गरेका थिए । संवादका लागि ओलीले गरेको प्रस्तावलाई प्रचण्डले सकारात्मक जवाफ दिँदै भेटवार्ता गर्ने जनाएका थिए । चीनले पनि दुवै पार्टी गरोस् भन्ने चाहँदै आएको छ र पुनले बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटमा गरेमा यसबारेमा छलफल हुने अनुमान छ ।

पुन पनि कांग्रेसभन्दा एमालेलगायत कम्युनिस्ट दलहरुसँग मिलेर माओवादी अघि बढ्नुपर्ने पक्षमा छन् । हालको निर्वाचनमा कांग्रेसको मत ट्रान्सफर हुननसकेकोबारे आइतबारको सत्ता गठबन्धनको बैठकमा चर्चा चलेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर