प्रहरीले माग्यो अमेरिकी दूतावाससँग रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पठाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र सोसम्बन्धी भएका निर्णयका बारेमा जानकारी माग गर्दै परराष्ट्र मन्त्रालयमार्फत् दूतावासलाई पत्र पठाएको हो।

यसअघि परिसरले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि पत्र लेख्दै लामिछानेको नेपाली तथा अमेरिकी नागरिकता त्याग र प्राप्तिसम्बन्धी कागजात मगाएको थियो।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका लामिछानेमाथि अमेरिकी नागरिकता नत्यागी वा पुनः नेपाली नागरिकता नलिई आफ्नो नेतृत्वमा दल र आफ्नो उम्मेदवारी दर्ता गराएको आरोप छ। यस विषयमा अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको छ।

निर्वाचनअघि लामिछानेको नागरिकता विषयलाई लिएर उनको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा पनि उजुरी परेको थियो तर आयोगले यस विषयमा कुनै एक्सन लिएन र उनी निर्वाचित भए भने निर्वाचित भएको प्रमाणपत्र पनि आयोगले उपलब्ध गराइसकेको छ। यद्यपि आयोगमा उनीविरुद्ध फेरि दोस्रो उजुरी परेको छ। सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध आयोगमा लिखित उजुरी दिएका हुन्।

उजुरीमा लामिछानेसँग नेपाली नागरिकता नहुँदा पनि विदेशी नागरिकलाई राजनीतिक दल खोल्न दिएको भन्दै आपत्ति जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर