नगर निगम चुनावमा पार्टीकाे लज्जास्पद हारपछि भाजपा दिल्ली अध्यक्ष आदेश गुप्ताले दिए राजीनामा

दिल्ली नगर निगम (एमसीडी) चुनावमा भारतीय जनता पार्टी (भाजपा)को लज्जास्पद हारपछि पार्टीका दिल्ली प्रदेश अध्यक्ष आदेश गुप्ताले पदबाट राजीनामा दिएका छन्।

उत्तर दिल्ली नगर निगमका पूर्वमेयर समेत रहेका गुप्ताले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई राजीनामा बुझाएको र नड्डाले उनको राजीनामा स्वीकृत गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् २०२० को दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको पराजयछि भाजपाले गुप्तालाई मनोज तिवारीको स्थानमा दिल्ली प्रदेश अध्यक्ष बनाएकाे थियाे। गुप्ताले बिहीबार साँझ नै राजीनामा पठाए पनि आइतबार स्वीकृत भएको हाे।

गुप्ताको राजीनामापछि वीरेन्द्र सचदेवालाई भाजपा दिल्लीको कार्यकारी अध्यक्ष बनाइएको छ। सचदेवा नयाँ अध्यक्ष नियुक्त नभएसम्म कार्यकारी भूमिकामा रहनेछन्।

यो चुनावमा गुप्ताकै वडामा समेत भाजपाले हार व्यहोरेको छ। गुप्ता एमसीडीको वडा नम्बर १४१ को राजेन्द्र नगरमा बस्छन्। यहाँबाट आम आदमी पार्टीकी आरती चावला विजयी भएकी छन्। यद्यपि गुप्ताले अन्तिमसम्म आफ्नो पार्टीले जित्ने दाबी गरेका थिए। तर, उनको दाबी सत्यमा परिणत हुन सकेन।

एमसीडी चुनावमा भाजपाले २५० वडामध्ये १०४ सिट जितेको छ। जबकि अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीले १३४ सिटमा जित हासिल गरेको छ। यसबाहेक कांग्रेस ९ मा र  ३ वडामा अन्य उम्मेदवार विजयी भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *