महिला हिंसाविरुद्ध राजनीतिक दलहरूले पनि अभियान नै चलाउनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन्।

आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी हुन्। उनले अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन्।

उनले महिला हिंसा गाउँघरमा मात्रै नभई शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन्। मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताइन्। उनले राजनीतिक दलहरुले पनि महिला हिंसाको विरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन्। राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाइ छ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन्। घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले बताइन्। उनले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उहाँले जोड दिइन्।

उनले ९५ प्रतिशत घरमा कुनै न कुनै रुपमा महिला हिंसा हुने गरेको बताइन्। महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भए पनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाइ छ। मन्त्री रेग्मीले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *