दूरदराजमा मानव अधिकारको प्रत्याभूति गराउन आवश्यक छ : अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सीमान्तकृत समुदायलाई मानव अधिकारको सम्बन्धमा शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार १० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दूरदराजमा रहेका नागरिकहरूलाई पनि मानव अधिकारको महसुस गराउन आवश्यक रहेको बताए । अध्यक्ष मगरले सीमान्तकृत र पिछडिएका समुदायहरूमा मानव अधिकार शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए ।

उनले विटक क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले पनि मानवअधिकारको प्रत्याभूति गर्नसके मात्रै मानव अधिकारको संरक्षण हुने बताए । उनले आयोगले पनि कसरी तल्लो स्तरसम्म नै मानव अधिकारको महसुस गराउने भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए ।

मानव अधिकारसम्बन्धी अधिकारहरू चलचित्रका माध्यमबाट दूरदराजमा रहेका मानिसहरूलाई बुझाउन आवश्यक रहेको बताए ।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना भएको आयोजकले जनाएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन भएको हो ।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्र महोत्सवमा देखाइने छ ।

नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मावनअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सुली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा छन् । महोत्सवमा प्रर्दशन गरिने चार विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *