गण्डकीमा कांग्रेसकाे नेतृत्वमा सरकार गठनकाे पहल गर्ने पार्टी प्रदेश समितिकाे निर्णय

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

कांग्रेस गण्डकी प्रदेश समितिको आइतबार सम्पन्न बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । बैठकले निर्वाचनमा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई मत प्रदान गर्ने मतदातालाई धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य सङ्घ संस्थाले पु¥याएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै बैठकले निर्वाचित उम्मेदवार आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ ।

निर्वाचनमा गण्डकी प्रदेशभित्रका जिल्लामा भएका गतिविधिका बारेमा व्यापक छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमी कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समिक्षा गर्न आवश्यक भएको महसुस गर्दै आगामी बैठकमा यस विषयमा समीक्षा गर्ने निर्णय गरेको बरालले जानकारी दिए ।

प्रदेशमा कांग्रेसका तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधि सभामा दिइएका १२ जना उम्मेदवारमध्ये १० जना र प्रदेश सभाको सदस्यमा दिएका २१ जनामध्ये १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएको भन्दै कांग्रेसका उम्मेदवारले प्राप्त गरेको विजयमा अपेक्षाकृत सफलता प्राप्त भएकोमा बैठकले खुसी व्यक्त गरेको छ ।

प्रदेश सभामा पार्टीको संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारलाई असहयोगी भूमिका गर्ने कार्यकर्ताको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशन दिँदै समितिले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका नेपाली कांग्रेसका विजयी उम्मेदवारलाई उपयुक्त समयमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी दिए ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको विशेष उपस्थिति रहेको उजले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *