विपद् व्यवस्थापनमा संघीय सरकारले ध्यान दिएन : मेयर महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।

विपद् व्यवस्थापन र न्यूनीकरणको सन्दर्भमा भएका असल अभ्यासहरूको अवलोकनका लागि ललितपुर महानगर आएका सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगर, अमरगढी नगरपालिका डडेलधुरा र जयपृथ्वी  नगरपालिका बझाङका नगरप्रमुख र कर्मचारीसँगको छलफल कार्यक्रममा उनले यस्तो अनुभव सुनाए ।

स्थानीय तहले आ–आफ्नो तरिकाले विपद्को बारेमा चेतना जगाउन प्रतिकार्य अभ्यासका कार्यहरू गरे पनि संघीय सरकारले राष्ट्रियस्तरको ड्रिल नगरेको उनले स्पष्ट पारे । उनले भने, ‘यो भेटघाटले संघीय सरकारसँग राष्ट्रिय स्तरको ड्रिल गर्न प्रस्ताव गरौं ।’

सुदूर पश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सुपर परियोजनाको समन्वयका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी, भूमिका र पहलकदमी आदान प्रदान गर्न यो अवलोकन भ्रमण आयोजना गरिएको हो ।

ललितपुर महानगरले विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको बताउँदै महानगर प्रमुख छिमेकी पालिकालाई समेत विपद्का बेला पर्याप्त सहयोग गरेको बताएका छन् ।

महानगरले सहरभित्रका अन्य चार ठाउँमा पनि विपद् व्यवस्थापन तथा न्यूनीकरण गर्न अन्य चार स्थानमा विपद् उपकेन्द्र खोल्ने तयारी गरेको बताए । प्रभावकारी सेवा प्रवाह गर्न सक्ने दमकल, नगर प्रहरी,  एम्बुलेन्सका लागि विपद्का बेला जोखिम न्यूनीकरण गर्न महानगर सबल र सफल भएको उनको दाबी थियो ।

महानगर प्रमुख महर्जनले भने, ‘हामीले दमकलसँगसँगै एम्बुलेन्स पनि जाने व्यवस्था मिलाएका छौं, एम्बुलेन्ससँगै जाँदा, घाइतेलाई अस्पताल छिटो पुर्‍याउन सजिलो हुन्छ, जसले गर्दा मानवीय क्षति कम हुन्छ ।’ महानगरले आगलागी जस्ता विपद्का बेला चार मिनेट भित्र घटना स्थलमा दमकल र एम्बुलेन्स र नगर प्रहरी पुग्ने नीति लिएको बताए ।

धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले एक्लो प्रयासले मात्रै विपद् व्यवस्थापन र न्यूनीकरण सम्भव नहुने बताए । उनले भने, ‘मिलेर काम गरौँ, मिलेर काम गर्दा कसको भूमिका के हो प्रस्ट हुनुपर्‍यो ।’

गोपाल हमालले विपद् व्यवस्थापनमा धनगढीले उल्लेख्य काम गरेको बताए ।  ललितपुर महानगरबाटे सबै क्षेत्रमा धेरै कुरा सिकेको बताउँदै भने, ‘अरुले आफ्नो पालिकामा  भएको काम हामीलाई देखाउँदैनन्, तर ललितपुरका मेयरले हामीले सजिलै सिकाउनु हुन्छ, सिक्नका लागि उहाँ साह्रै सजिलो मान्छे हुनुहुन्छ ।

धनगढीले युवा र बालबालिकालाई विपद्का बारेमा सक्षम र जानकार बनाएको बताउँदै भने, ‘विपद्का प्रयोग हुने सामग्रीलाई विद्यालयमा राखेका छौं, विद्यालयमा ती सामग्री राख्दा प्रभावकारी भएको छ ।’ धनगढीले सरसफाइ लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको उनले दाबी गरे ।

अमरगढी नगरपालिका डडेलधुराका प्रमुख डिल्लीराज जोशीले विपद्का बेलामा अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन ड्रिल अत्यावश्यक र महत्त्वपूर्ण भएको बताए । उनले भने,‘केन्द्रीय स्तरमा मात्रै होइन, क्षेत्रीय स्तरमा पनि ड्रिल आयोजना गर्नुपर्छ ।’ संघीय सरकारले विपद् जोखिम न्यूनीकरणलाई महत्त्व नदिएको पनि उनले आरोप लगाए ।

जयपृथ्वी नगरपालिका बझाङका प्रमुख चेतराज बजालले आफ्नो नगरपालिकाको भौगोलिक अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो नगरपालिका भूकम्प र बाढीको जोखिममा रहेको बताए । गाउँमा दमकल जान सक्ने सडक निर्माण गर्न बजेट अभावका कारण पालिका असमर्थ भएको बताउँदै साँघुरा सडकका कारण सहरका अन्य ठाउँमा पनि दमकल पुग्न कहिले काहीँ हम्मे हम्मे हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *