लुम्बिनीका डीआईजीले जोगाएका घुमुवा घुससहित पक्राउ

नवलपरासीको बर्दघाट र दक्षिणी सीमा क्षेत्रमा खटिएका दुई जना घुमुवा प्रहरी घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

सोमबार प्रहरी जवानद्वय सन्दीप धवल र दीपेन्द्र रजक घुससहित रंगेहात पक्राउ परेका हुन् । उनीहरूलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका जवान धवल यसअघि पनि यस्तै काण्डमा मुछिएर बर्खास्त भएका थिए । तर, डीआईजी नलप्रसाद उपाध्यायले उनलाई पुनः जागिरमा थमौती गरेको स्रोतको दाबी छ ।

थमौतीपछि पुरानै ठाउँमा रकम उठाउन हिँडेका बेला उनी पक्राउ परेका हुन् ।

बर्दघाटमा यसअघि इन्स्पेक्टर कपिल ज्ञवालीको गाडीको ठक्करबाट मृत्यु भएको थियो । मोबाइल तस्करीलगायत काण्डमा मुछिएकै बेला उनको मृत्यु भएको हो ।

पछि प्रहरीले गरेको अनुसन्धानबाट जवान धवलले तस्करीका रकम इन्स्पेक्टर ज्ञवालीलाई बुझाउने गरेको खुलेको थियो । डीआईजीद्वय मुकुन्द आचार्य र प्रकाश अधिकारीले उनलाई पुनर्बहाली गर्न मानेका थिएनन् ।

डीआईजी उपाध्यायको पहलमा पुनर्बहालीपछि दक्षिणी बोर्डरमा धवल र रजकलाई रकम उठाउने कार्यमा पठाइएको थियो ।

र, याे पनि-

विवादमा लुम्बिनीका डीआईजी, छानबिनको तयारी गर्दै प्रहरी मुख्यालय

यसअघि लुम्बिनीको प्रहरी प्रमुखमा सरुवा भएसँगै विवादमा पर्दै आएका डीआईजी उपाध्यायले रकम उठौतीमा मात्र ध्यान दिएको भन्दै मातहतका जिल्ला प्रमुख एसपीहरूले प्रहरी प्रधान कार्यालयमा गुनासो गरेका थिए ।

उपाध्यायले घुुमवालाई रकम उठाउन प्रयोग गरेको भन्दै एसपीहरूले गुनासो गरेपछि प्रहरी प्रधान कार्यालयले पनि छानबिन सुरु गरेको प्रहरीको उच्च जनाएको छ ।

डीआईजी उपाध्याय गत स्थानीय तहको निर्वाचनअघि २१ वैशाखमा लुम्बिनीमा सरुवा भएका थिए । त्यसअघिका डीआईजी मुकुन्दप्रसाद आचार्य विवादमा परेपछि उनी एक वर्षे कार्यकाल नै पूरा नगरी प्रहरी मुख्यालय तानिएका थिए । तर, सरुवा भएर गएका डीआईजी उपाध्यायले पनि नाकाबाट रकम उठाउन र अन्य विवादास्पद काम गर्न थालेपछि प्रहरी कर्मचारीले नै गुनासो गरेका हुन् ।

लुम्बिनीमा भैरहवा, कृष्णनगर, नेपालगन्ञ्ज जस्ता प्रमुख नाकाहरु भएका शहर छन् भने परासीलगायतका साना र रणनीतिक हिसाबले संवेदनशील नाका पनि छन् । तर, यी नाकाबाट चोरी निकासी रोक्ने, प्रदेशकै शान्ति सुरक्षालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा डीआईजी उपाध्यायले आफ्नो स्वार्थअनुकूल काम गर्न थालेको उच्च स्रोतले जानकारी दिएको छ ।

उनी पहिले पूर्वी नवलपरासीको प्रहरी प्रमुख पनि भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *