डेटलाइन १० पुस : प्रधानमन्त्री बन्न अन्तिम रस्साकस्सीमा देउवा र दाहाल

नयाँ सरकार गठनका लागि अहिले सत्ता गठबन्धनबीच तीव्र रस्साकस्सी छ । ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार छन् । हालका प्रधानमन्त्रीसमेत रहेका देउवालाई गठबन्धनकै अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनौती दिइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि १० पुस (आइतबार) साँझ ५ बजेसम्ममा बहुमत जुटाउन ७ दिनको समय सीमा दिएकी थिइन् । राष्ट्रपतिले संविधानको धारा ७६ (१) बमोजिम बहुमतको सरकार बन्न नसक्ने देखिएकाले उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएकी हुन् ।

राष्ट्रपतिले उपलब्ध गराएको सात दिनभित्र कम्तीमा १३८ सांसदको समर्थन लिएर प्रधानमन्त्री दाबी गर्नुपर्नेछ । यसका लागि देउवाले आफ्नो दलका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् भने प्रचण्ड कांग्रेस र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीमा अफूलाई समर्थन गरिदिन लबिइङ गरिरहेका छन् ।

कांग्रेसले शुक्रबार र शनिबार पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । राष्ट्रपतिले उल्लेख गरेको संवैधानिक प्रावधानअनुसार सरकार गठन हुन नसके संसद्को ठूलो दलको नेताको हैसियतमा पनि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्न कांग्रेसले सांसदका हस्ताक्षर संकलन गरेको हो ।

यता, माओवादी अध्यक्ष प्रचण्डले भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर प्रधानमन्त्रीमा आफूलाई समर्थन गरिदिन आग्रह गरेका छन् । शनिबार बिहान पौडेललाई भेट्दै प्रचण्डले राष्ट्रपति पद कांग्रेसले राखेर आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्री पद दिनुपर्ने माग गरेका हुन् ।

कांग्रेसले सरकारको नेतृत्व लिइसकेकाले यसपटकको पहिलो चरणको सरकारको नेतृत्व आफूले पाउनुपर्ने उनको अडान थियो । देउवासँगको पटकपटकको छलफलमा पनि सहमति ननिस्किएपछि प्रचण्ड पौडेलसँग भेट्न पुगेका हुन् । उनले प्रधानमन्त्री पद नपाए विकल्प सोच्नेतर्फ पनि संकेत गरेका छन् । नेता पौडेलले भने देउवासँग नै यो कुरा टुंगो लगाउन प्रचण्डलाई सुझाएका छन् ।

नेकपा एसका अध्यक्ष नेपालसँगको भेटमा पनि प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरिदिन आग्रह गरेका छन् । यस्तै, गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो । छलफलमा नेपालले राष्ट्रपति बन्न चाहेको संकेत गरेका थिए ।

पहिलो दल कांग्रेस र तेस्रो दल माओवादीबीच सरकार गठनको विषयमा मतभिन्नता रहँदै गर्दा दोस्रो ठूलो दल नेकपा एमालेले भने तत्काल सरकारमा जानेबारे कुनै संकेत गरेको छैन । एमाले माओवादीलाई गठबन्धनबाट छुट्याएपछि मात्र सरकारबारे सोच्ने मुडमा छ ।

शनिबार नै एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने जिकिर गरेका छन् । कुनै पनि कामको सीमित समय रहने र समय घर्किएपछि त्यसको औचित्य सकिने प्रसंग जोड्दै उनले अब दाहाल प्रधानमन्त्री बन्ने समय सकिएको जिकिर गरेका थिए ।

ओलीले देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको बताएका छन् । सत्ता गठबन्धन दलहरूले सरकार नेतृत्वको विषयमा सहमति जुटाउन नसकिरहँदा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर