मेरो संसार आमाको काखदेखि अन्तरिक्षसम्म : डा. तीर्थबहादुर श्रेष्ठ

वैज्ञानिक तथा वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठले आफूले संसार भनेको आमाको काखदेखि अन्तरिक्षलाई बुझेको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को तेस्रो दिनमा रहेको यो पृथ्वी कसको हो? नामक सत्रमा पत्रकार रमेश भुषालसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

पृथ्वी मानिसहरूको मात्रै हो या यहाँ जिवित सबै प्राणी तथा वनस्पतीहरूको हो? भन्ने मुख्य विषयमा केन्द्रित सत्रमा भुषालले श्रेष्ठलाई यो पृथ्वी कसको हो? भनेर पहिलो प्रश्न गरेका थिए। उमेरका कारण तथ्य थाहा भए पनि तथ्यांक बिर्सने समस्या रहेको भन्दै तथ्यांकको टिपोटसहित मञ्चमा उक्लिएका श्रेष्ठले यो पृथ्वी मेरो हो भन्ने वाक्यबाट उत्तर सुरु गरेका थिए।

पृथ्वी कसको हो भन्ने प्रश्न जति सरल भए पनि उत्तर निकै जटिल रहेको बताउँदै उनले भने, जब म जन्मे यो संसार मेरो आमाको काख जत्रो थियो। त्यसपछि बामे सर्दै गर्दा कोठा मेरो संसार भयो। त्यसपछि आगन, गाउँ सबै मेरो संसार भयो। बिस्तारै यहाँ म मात्रै रहेनछु, चराचुरुङ्गी, पशुपंक्षि, वनस्पति सबै मेरो संसार रहेछ भन्ने लाग्यो। त्यसपछि बुझ्दै जाँदा, विदेश पुगेर हेर्दा यो पहाड, नदि, समुद्र, सिंगो पृथ्वी मेरो संसार रहेछ भन्ने लाग्यो। अन्तरिक्ष पुगेर आएका साथीहरूसँग कुरा गर्दा अन्तरिक्ष पनि मेरो संसार रहेछ भन्ने थाहा भयो।

सन १९६३ मा काठमाडौंदेखि पोखरा, जुम्ला, हुम्ला, मुस्ताङ लगायतका ठाउँमा हिँडेरै वनस्पतिको अनुसन्धानमा निस्केका श्रेष्ठले त्यो वेला जहाँ गए पनि मानिसहरूले स्वागत गरेको बताए। तर, त्यो समयभन्दा अहिले मानिसहरूको संख्या निकै वृद्धी भएको र पहिलेको जस्तो सद्भाव भने नरहेको पनि उनले जिकिर गरे।

नेपालमा मात्र नभएर सिंगो पृथ्वीमा मानिसहरूको संख्यामा भएको वृद्धी चिन्ताजनक रहेको उनले बताए। मानिस पृथ्वीमा रहेका लाखौँ प्रजाति मध्ये एउटा प्रजाति हो। अहिले पृथ्वीमा जति चराहरू छन् त्यो चराचुरुंगीको तौलमध्ये ७० प्रतिशत मान्छेले खानको लागि पाल्ने चराहररूको छ। उनले भने, जे मरे पनि मान्छे नै जन्मने। मान्छे नै मान्छे भयो भने संसार चल्छ कि चल्दैन भन्ने यतिवेला गम्भिर प्रश्न आइरहेको छ।

नेपालको सन्दर्भमा पहिले आफूलाई पुग्ने गरी उब्जाउ गर्दै आएकोमा अहिले हरेक पक्षबाट पर निर्भर हुँदै गएको उनले जिकिर गरे। ऋहिले गरिरहेको कामहरू दिगो रुपमा कस्तो प्रभाव पार्छ भन्ने मुख्य विषय रहेको उनले .बताए। साथै अहिले मानिसहरूले डरलाग्दो रुपमा कार्व उत्सर्जन गरिरहेको र यसले ग्लोबल वार्मिङको थ्रेट बढाएको र छिटै प्रलय हुन सक्नेमा पनि सचेत गराए।

मानिसहरूको पृथ्वी प्रतिको सद्भाव किन घट्दै गइरहेको छ भन्ने प्रश्नमा श्रेष्ठले प्रकृतिसँग नजिक भइरहनुपर्नेमा मानिसहरू झन झन परपर गइरहेका कारण यो अवस्था आएको बताए।

परिवर्तन भइरहने कुरा हो। कसैले रोक्न सक्दैन। सँधै त्यसरी नै आयो। सबैभन्दा मख्य कारण मानिसहरू देखासिकिमा धेरै लागे। उनले भने, पोखराको बजारमा पहिले जुत्ता भएका मान्छे हुन्थेनन्, टोपी नभएका पनि हुन्थेन। अहिले सबैको खुट्टामा जुत्ता छ, कसैको टाउकोमा टोपी छैन। यो समयले ल्याएको हो। पहिले मानिसहरू प्रकृतिको नजिक थिए, अहिले टाढा हुँदैछन्। मानिसको संख्या बढेसँगै स्रोत साधन बढाउनुपर्ने थियो त्यो भएन।

मानिसहरूका गतिविधिका कारण अन्य प्राणी तथा वनस्पतीको अस्तित्व नै धरापमा गइरहेको प्रसंगमा बोल्दै निकुञ्जको अवधारणाले मात्र त्यसको क्षतिपूर्ति नहुने उनले बताए।

निकुञ्ज त्यो प्रजाति, वनस्पती लोप नहोस् भन्नको लागि मात्र हो। तर हामीले रुखलाई प्रकृतिको रुपमा लिएका छैनौँ। त्यो प्रजातिको संरक्षण गर्नको लागि मात्रै निकुञ्ज बनेका छन् त्यो पनि अरुले भनेपछि गर्न थालेको हो। एनले भने, रुख होइन रुखको प्रकृति प्रकृति हो भन्ने बुझेर मान्छे जानुपर्छ। छहारी, पानीको स्रोत दिने, सास दिने, हुँदा हुँदै बुद्ध बनाउने समेत रुखको प्रकृति हो।

त्यस्तै कुनै एउटा प्राणीको रक्षा गर्नुभन्दा पनि वातावरण तथा पारिस्थितिक प्रणालीमा त्यो वनस्पती, पशुपंक्षिको भूमिका के हो? त्यसको प्रकृति के हो भन्ने कुरा महत्वपूर्ण रहेको र मानिसले त्यसलाई नै केन्द्रमा राखेर संरक्षणका अभियान चलाउनुपर्नेमा उनले जोड दिए।

बाघ, हात्ति गैँडा मात्र हैन, जल थल आकाश बायु पाँचवटै तत्व मेरो पनि हो। पानीको सुरक्षा गरौँ भनेको पिउन सक्ने पानी हुनुपर्यो, सास फेवर्न सक्ने हावा, ताप्न सक्ने घाम हुनुपर्यो भनेको हो। उनले भने, जुन सिस्टममा हामी बाँचेका छौँ त्यसको संरक्षण गरौँ, हामी सबैको सहयोगी हो र अरु सबै हाम्रो सहयोगी हुन् भन्ने कुरा बुझ्न जरुरी छ।

वातावरणलाई सन्तुलनमा ल्याउन मानिसले आफूहरूलाई प्रकृतिको क्षमताभित्र राख्नुपर्ने र त्यसका लागि आफ्नो परिवेश नबुझी अर्काको परिवेशमा प्रवेश नगर्नु आधारभूत सर्त रहेको पनि उनले जनाए। साथै वातावरणले देशको सिमा नदेख्ने भएकाले यो व्यक्ति अथवा एउटा देशले भन्दा पनि ठूलो क्षेत्रिय सहकार्य भएमा पृथ्वी र यहाँका जीव जन्तुको संरक्षण हुने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर