शेयर बजारमा उत्साह, नेप्से ५६.८६ अंकले वृद्धि

देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।

अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से सोमवार एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले, फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ ।

सोमवार आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा गोर्खाज फाइनान्स, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर, नेपाल टेलिकमको शेयरमूल्य भने ५.५६ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *