महान्यायाधिवक्ता डा. पोखरेलले लिए शपथ

नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराएका हुन्। प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन्।

महान्यायाधिवक्ता डा. पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको हो। उनी २५ वर्षदेखि निरन्तर कानून व्यवसायमा संलग्न छन्। उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानूनमा विद्यावारिधि गरेका थिए।

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानूनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको सामाजिक अध्ययन संस्थानबाट २००७ बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका थिए। उनले वातावरणीय कानूनमा स्नातक गरेका छन्।

कानूनी अभ्यास र परामर्शका अतिरिक्त डा. पोखरेल कानूनी अनुसन्धान, कानूनी मस्यौदा र तालिममा संलग्न छन्। उनले संविधान सभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानूनविद्का रूपमा काम गरेका थिए।

डा. पोखरेलले व्यवस्थापिका संसद्का तत्कालीन सभामुख ओनसरी घर्तीको कानूनी सल्लाहकारका रूपमा पनि काम गरेका थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानूनी परामर्श सेवा पनि प्रदान गर्दै आएका छन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानूनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेलले जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानून, राजनीतिक अर्थव्यवस्था तथा विकासमा केन्द्रित रही काम गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर