मन्त्रिपरिषद् विस्तारका लागि अझै दुई हप्ता लाग्न सक्छ : ओली

सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काममा अझै १०/१५ दिन लाग्न सक्ने संकेत गरेका छन् ।

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे ।

उनले खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरूको सो माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासनसमेत दिए । नयाँ खेलकुदमन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले बालबालिकाहरूलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरूले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे । त्यस अवसरमा उनले सो एकेडेमीलाई अक्षयकोष स्थापना गर्न ढिलाइ नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशि सहयोग गर्ने घोषणा गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *