निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन्।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आइतबार बागमती प्रदेशको दोलखामा शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए।

निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानूनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उनले बताए।

‘मतदाता नामावलीलाई शुद्ध बनाउन गाउँपालिकासम्म परामर्श गरी सुझाव लिइएको थियो। मृत्यु भएका र बसाइँ सरेकाहरूको नामावली अद्यावधिक गराइदिन आग्रह गरिएको थियो। हाम्रो विश्वास मतदाता नामावली शुद्ध छ भन्ने हो,’ प्रमुख आयुक्त थपलियाले भने, ‘तर गलत नामावली छ भने त्यसप्रति यहाँहरू नै जिम्मेवार हुनुहुन्छ। मरेका मान्छेलाई मतदान गराएर दोलखाले बदनामी कमाएको म विश्वास गर्दिनँ। छ भने कसरी हुन गयो यहाँ राखिदिनुहोला।’

कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतीकरण गरेका थिए।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुख र सरोकारवालाहरूको सहभागिता रहेको समीक्षा कार्यक्रममा मतदाता नामावली, मतदान प्रक्रिया, जनशक्ति, सामग्री व्यवस्थापन, अनुगमन, निर्वाचन कानून, सामाजिक सञ्जालको अनुगमन, मतदाता शिक्षा, पर्यवेक्षण, सूचना प्रविधि, लैंगिक समावेशीकरण आदि विषयमा समूहगत छलफल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *