प्रचण्डलाई माधव नेपालको आग्रह, ‘केपी ओली आफूलाई सर्वेसर्वा ठान्छन्, पछि नलाग्नू’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफैंलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

प्रतिनिधि सभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले दाहाललाई १५ बुँदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे।

उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री दाहाल अघि बढ्ने विश्वास व्यक्त गरे। अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए।

अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए। उनले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धताहरू पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए।

सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो। अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घच्घच्याइरहने पनि बताए।

अध्यक्ष नेपालले देशलाई विदेशीहरूको क्रीडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर