विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको बीमामा समस्या छैन : अध्यक्ष सिलवाल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बीमा पाटोमा कुनै समस्या नरहेको बताए। उनले बैठकमा शवहरूको पोष्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरूलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको बताए।

उनले भने,‘सबैको सद्गति भइसकेपछि प्रमाणहरू लिएर सबैको बीमाको पाटोमा समस्या छैन। त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरू पीडामा हुनुहुन्छ, उहाँहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारेमा सरकारका विभिन्न निकायहरूले के सहयोग पुर्‍याउनुपर्छ भन्नेबारेमा छलफल भयो र त्यही निर्णय भयो। विदेशी बडीहरू पनि कलेक्शन गर्नुपर्‍याे। ल्याएर त्यसको पोष्टमार्टम गर्नुपर्‍याे। त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुपर्‍याे। कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरू भयो।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरूलगायत सरोकारवालाको सहभागिता रहेको थियो।

आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर