यस्तो छ माघ ५ गते हुने सभामुख निर्वाचनको कार्यतालिका

प्रतिनिधि सभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। संघीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिकाअनुसार माघ ४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची सोही दिन ४:१५ बजे प्रकाशित गरिने छ।

प्रतिनिधि सभाको माघ ५ गते ११ बजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ। त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधि सभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न मंगलबार निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक जना महिला र फरक दलको हुनुपर्नेछ। नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वाेच्च थलोका रूपमा प्रतिनिधि सभा रहिआएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *