चौथो प्रयासमा सांसद जितेका पूर्वआईजीपी प्रधानलाई कानून बनाउने जिम्मा

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ध्रुवहादुर प्रधान कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद प्रधानले संसद्बाट अनुमोदन हुने कानूनको मस्यौदा निर्माण गर्नुुपर्ने मूल दायित्य प्राप्त गरेका हुन्। राप्रपाका सांसद प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानूनमन्त्री नियुक्त गरेका हुन्।

७४ वर्षीय प्रधानले नवलवरासी–२ बाट पूर्व गृहराज्यमन्त्री रहेका कांग्रेस नेता देवेन्द्रराज कँडेललाई हराउँदै संसद्को यात्रा तय गरेका हुन्। आफ्नो पार्टी राप्रपा सरकारमा सहभागी भएसँगै प्रधानले सरकारमा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका छन्।

३० वर्ष नेपाल प्रहरीमा सेवा गरेका प्रधान २०५३ देखि ०५४ सम्म संगठन प्रमुखको भूमिकामा रहे। प्रहरीको जागिरबाट अवकाश लिएपछि भने उनी राप्रपाबाट राजनीति गर्न थाले। तर, उनका लागि राजनीति सजिलो भने भएन। चौथो प्रयासमा उनी सांसद बनेका हुन्।

२०५६ बाटै चुनाव लड्न थालेका प्रधान मंसिर ४ अघिका तीन निर्वाचनमा पराजित भएका थिए।

नेपाल प्रहरीका १७औं महानिरीक्षक रहेका प्रधानले प्रहरीमा खेलकुदको विकासका लागि उल्लेख्य भूमिका खेलका थिए। उनी प्रहरीभित्र हक्की प्रहरी अधिकृतका रूपमा परिचित छन्।

र, याे पनि-

पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले चाै‌थाे प्रयासमा जिते संसदको दौड

आईजी भएको ३६ दिनमै सरकारले ०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए। अदालतको आदेशमा पुनः ०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए।

अदालतको आदेशपछि आईजीबाट हटेर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी ०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार बेहोरे। ०६४ र ०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।

प्रत्यक्ष निर्वाचनमा पटकपटक हार बेहोरेका उनी ०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

यसपटक भने आफूलाई हराउँदै आएका कडेँलसँग हारको बदला लिँदै उनले संसद्को यात्रा तय गरेका हुन्।

प्रहरीको जागिरबाट अवकाश लिएर २३ वर्ष लामो राजनीति गरेपछि सांसद जितेका प्रधान यसपटक भने मन्त्री नै बने। प्रधान राप्रपाका केन्द्रीय उपाध्यक्षसमेत हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर