आठ विकास बैंक र चार वित्त कम्पनीलाई राष्ट्र बैंकले गर्‍याे कारबाही

नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लंघन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैंक र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई विपन्न वर्ग कर्जा नपुर्‍याउँदा एकपटक र अनिवार्य मौज्दात कायम गर्न नसक्दा दुईपटकसम्म हर्जाना तोकिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा नपुर्‍याउँदा एक लाख ५२ हजार नौ सय २९ रुपैयाँ बराबर हर्जाना तोकिएको छ भने अनिवार्य मौज्दात कायम गर्न नसक्दा पहिलोपटक ७ सय ६ रुपैयाँ र दोस्रोपटक ३२ हजार नौ सय ६९ रुपैयाँ बराबर जरिवाना गरिएको छ । त्यस्तै सालपा विकास बैंकले पनि अनिवार्य मौज्दात कायम गर्न नसक्दा जरिवाना तिर्नुपरेको छ ।

राष्ट्र बैंकका अनुसार तोकिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकलाई हर्जाना तिराइएको हो । यी चार विकास बैंकले गत साउन र भदौ महिनामा तोकिएको सीडी रेसियो कायम नगरेका कारण दुई महिनाको हर्जाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार रुपैयाँ र भदौमा २३ लाख १४ हजार चार सय ९३ रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै सिन्धु विकास बैंकलाई साउनमा एक लाख २६ हजार तीन सय ८४ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार एक सय ५१ रुपैयाँ बराबर हर्जाना कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा चार लाख ६३ हजार सात सय ९४ रुपैयाँ र भदौ मा पाँच लाख १६ हजार तीन सय सात रुपैयाँ बराबर जरिवाना तोकिएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकलाई साउनमा २१ लाख ८० हजार छ सय ६३ रुपैयाँ र भदौमा २८ लाख ९७ हजार तीन सय ५४ रुपैयाँ बराबर जरिवाना तोकिएको छ ।

त्यसैगरी वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सीडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ । नेपाल फाइनान्सलाई पहिलोपटक १९ हजार तीन सय ३० रुपैयाँ र दोस्रोपटक एक लाख ६५ हजार पाँच सय ८४ रुपैयाँ बराबर हर्जाना कायम गरिएको छ ।

त्यस्तै जानकी फाइनान्स कम्पनीलाई पहिलोपटक छ लाख ५५ हजार एक सय ९३ रुपैयाँ र दोस्रोपटक छ लाख ३९ हजार सात सय ९९ रुपैयाँ तिराइएको छ । समृद्धि फाइनान्स कम्पनीले पनि कर्जा निक्षेप अनुपात पुर्‍याउन नसक्दा ८० हजार चार सय ७४ रुपैयाँ बराबर हर्जाना तिर्नुपरेको छ । अनिवार्य मौज्दात कायम नगर्ने प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई २३ हजार एक सय ८८ हर्जाना रुपैयाँ तिराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर