सई उमा गुरुङ र सहायक हवल्दार सुदर्शन कालाखेती बने प्रदेश १ को ‘बेस्ट पुलिस’

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) उमाकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती प्रदेश १ को सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनीहरूलाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएकाले उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सई गुरुङले उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित निकिता होटलबाट देह व्यपारमा संलग्न ७ जना पुरुष र ६ जना महिलालाई नियन्त्रणमा लिएको, लिम्चुङबुङ गाउपालिका–२ कि अपांगता भएकी महिलालाई पटकपटक करणी गर्ने आरोपित बाबु, छोरालाई पक्राउ गरी कसुरबमोजिमको मुद्दा दर्ता गरी पीडित महिलाको उद्धार गर्न भूमिका निर्वाह गरेकी थिइन्।

यस्तै सहायक हवल्दार कालाखेतीले पुस २७ गते विराटनगर–७ जलजला चोकबाट विराटनगर महानगरपालिका–१७ का रविप्रकाश साहलाई स्रोत नखुलेको नेपाली रकम ७ लाख ९ हजार र को.२९ प ७९८४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन अहम् भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ।

सई गुरुङ र सहायक हवल्दार कालाखेतीले नागरिकहरूमा सुरक्षाको अनुभूति हुनेगरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले दुवै जनालाई उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर