चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्कता

चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्कता अपनाइएको छ।

यही माघ ६ मा चोरी शिकारी गर्नेहरूले गैंडा मारेपछि निकुञ्जले गैंडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो।

निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैंडा मरेका थिएनन्। शिकारीले गैंडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

उनका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समितिअन्र्तगत रहेका चोरी शिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ।

उनले भने, ‘चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ।’ निकुञ्जमा गैंडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ। गैंडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उनले बताए।

गैंडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ।

चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैंडा मरेका छन्। जसमध्ये ८ गैंडा कालगतिले मरेका हुन भने दुईवटा चोरी शिकारी गरेर मारिएका छन्। एउटा गैंडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिए।

गैंडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ। निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन्। ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन्।

निकुञ्जमा दैनिक पैदल, साइकल, डुंगा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ। तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ। तस्करले गैँडा मारेपछि गस्ती कडाइका साथ गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजीमा तीव्रता दिइएको उनले बताए।

सशस्त्र द्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैंडा मारिएका थिए। पछिल्ला वर्षमा चोरी शिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो। पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ। पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिंगे गैंडा छन्, जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर