कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरु

कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) ले विद्यालय सञ्चालनमा ल्याएको छ। शुक्लाफाँटा नगरपालिका–५ स्थित नेपाल एपीएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो।

सोमवार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गरे। सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल  नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए।

उनका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो। कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँचजना विद्यार्थी भर्ना भएका छन्। झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो। सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो।

सशस्त्र प्रहरी र सर्वसाधारणको समेत बालबालिकालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए।

‘यसले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित गर्नेछ। मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,’ उनले भने।

सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वार देशका विभिन्न चार ठाउँमा एपिएफ विद्यालय सञ्चालनमा छन्। २०६२ सालमा सशस्त्रले कीर्तिपुरबाट विद्यालय सञ्चालन सुरु गरेको थियो। सशस्त्र प्रहरीको विद्यालयप्रति अभिभावकको आशा धेरै भएकाले आशालाई निराश हुन नदिने गरी काम गर्न उनले शिक्षकहरुलाई अनुरोध गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *