सशस्त्र प्रहरी बल अब पूर्ण वयस्क भयो, नयाँ संगठन भनेर क्षमा पाइँदैन : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल पूर्ण वयस्क अवस्थामा प्रवेश गरेको बताएका छन्। सोमबार सशस्त्र प्रहरीको मुख्यालय, हल्चोकमा २२औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

पहिले कामकारबाहीमा स्रोत साधन एवं जनशक्तिको अभावका कारणले कार्यक्षमतामा कमी देखिएको भए पनि त्यो क्षम्य रहेको तर अब २२औं वसन्तमा प्रवेश गरिसकेपछिको संगठन अब पूर्ण वयस्क अवस्थामा प्रवेश गरिसकेकाले नयाँ संगठन भनेर कुनै पनि हालतमा क्षमा पाउने  अवस्था नरहेको गृहमन्त्री लामिछानेको भनाइ छ। स्थापनाको २२औं वर्षिकोत्सव मनाइरहँदा संगठनले भिन्न कालखण्ड पार गर्दै आएको र स्थापनाको सुरुवाती वर्षहरूमा भर्खर जन्मिएको नयाँ संगठन वा शिशु अवस्थामा कम स्रोत र साधनयुक्त संगठन मानिए पनि यसले गरेका कामकारबाही इतिहासको स्वर्णिम पानामा मात्र नभई हरेक नेपालीको मनमा समेत लेखिएको बताए।

‘प्रकृतिको नियम हो, वयस्क समय जीवनकै ऊर्जाशील र संघर्षमय अवस्था हो। तसर्थ सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीहरूले आफ्नो ऊर्जा र क्षमताको अधिकतम प्रयोग गरी संगठनको वयस्क समयलाई जीवन्तता दिनुहुनेछ र मन्त्रालयले अभिभावकीय भुमिकामा रहेर साधान र स्रोतले भ्याएसम्म थप सहयोग गर्ने छ भन्ने विश्वास दिलाउन चाहान्छु,’ गृहमन्त्री लामिछानेले भने।

आन्तरिक सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले संघीय सरकारको अभिन्न सुरक्षा निकायको रूपमा संविधानले नै व्यवस्था गरेबमोजिम देशका ७७ वटै जिल्लामा तैनाथ रही ऐनले तोकेको कार्यादेशबमोजिम कार्यसम्पादन गर्दै आएको छ र आगामी दिनमा सम्पूर्ण थप व्यवसायिक भई थप ऊर्जा र हौसलाका साथ कर्तव्यपथमा लाग्ने विश्वास आफूले लिएको गृहमन्त्री लामिछानेले उल्लेख गरे।

देशमा कार्यान्वयनमा रहेका धरै ऐनहरू पुराना भएकाले सशस्त्र प्रहरीको भूमिकामा केही द्धिविधा भएकाले आगामी दिनमा विभिन्न ऐनमा सशस्त्र प्रहरी बलको भूमिकाको लागि मन्त्रालयले विशेष चासोका साथ कार्य गर्ने विश्वास उनले दिलाए।

जनशक्ति, स्रोत साधनलगायत पर्याप्त नरहे पनि देशको आवश्यकता र क्षमताबमोजिम सशस्त्र प्रहरी बललाई थप मजबुत बनाउन कानूनी एवं नितीगत सुधारलगायत स्रोत साधन उपलब्ध गराउन नेपाल सरकार, गृह मन्त्रालयले खेल्नुपर्ने भूमिकामा कुनै पनि कन्जुस्याइँ नगर्ने उनले बताए।

‘सुरक्षा फौज जहिले पनि कडा मेहनत गर्नु पर्ने संगठन हो। शान्त अवस्था भनेको कठिन समयको तयारीको अवस्था हो। त्यसैले लडाइँमा शान्ति स्थापना गर्ने हो भने शान्तिमा लडाइँको तयारी गर्नैपर्ने हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘त्यस्तै आन्तरिक सुरक्षा एवं विपद् उद्धारमा सरकारको लक्ष्य र जनचाहनाअनुसार परिणाम दिन सामन्य अवस्थामा समेत निरन्तर अभ्यास गर्दै पेशागत ज्ञान हासिल गर्नु जरुरी छ।’

आगामी दिनमा विगतका दिनबाट प्रेरणा र शिक्षा लिँदै कर्तव्य पालनालाई थप नतिजामुखी बनाउन र संगठनलाई अन्तर्राष्ट्रिय सुरक्षा फौजको क्षमतासँग समानन्तर बनाउन हरेक जवानले यो भूमिमा बगाएको थोपाथोपा पसिना र वीर शहीदको थोपाथोपा रगतले भूमिका खेल्ने छ भन्ने कुरालाई हरेक राष्ट्रसेवकले मतिष्कमा राख्न जरुरी रहेकाे उनले बताए।

उनले सशस्त्र प्रहरी बललाई संघीय सरकारको बलको रूपमा व्याख्या गरे। आगामी दिनमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न अन्य सुरक्षा निकाय, तीनै तहका सरकार एवं राज्यका अन्य निकायसँग समन्वय गरी सुरक्षाका कारबाही गर्नसमेत गृहमन्त्री लामिछानेले निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर