मधेस प्रदेश सरकारले अझै पाउन सकेन पूर्णता

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन। सत्तारूढ दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो।

मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरूले मन्त्रालय भागबण्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन्। सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन्। यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिए पनि संघीय संसद्मा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेस सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवं बिनाविभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिए।

मन्त्री यादवले सत्ता साझेदार दलहरूको बैठकबाट मन्त्रालय भागबण्डाको सहमति जुटाइने बताए। अहिलेसम्मको सहमतिअनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उनी आएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने मन्त्री यादवले बताए। यसका साथै प्रदेशमा मन्त्रालयहरूको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत् राख्ने समझदारी भएको उनले बताए।

मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर