गण्डकी प्रदेश सरकारले पायो पूर्णता

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गरेका छन् ।

नेकपा (एमाले) का दुई र नेकपा (माओवादी केन्द्र) का एक मन्त्री थपिएका छन् । यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री अधिकारीले नेकपा (एमाले) बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गरेका हुन् । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि मन्त्री नियुक्त भएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी नेकपा (एमाले) का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिए।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा परामर्श गरेका थिए । अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर