बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनको आयोजनामा कविता लेखन प्रतियोगिता

स्वर्गीय बालकृष्ण शिवाकोटीको ७९औं जन्मजयन्ती तथा चौथो स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा कविता लेखन तथा वाचन समारोह आयोजना गरिएको छ।

नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले बालकृष्ण शिवाकोटी स्मृति फाउण्डेशनले हरेक वर्ष श्रीपञ्चमीका दिन कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्ने गरेको छ। श्रीपञ्चमीको दिन स्वर्गीय बालकृष्ण शिवाकोटीको जन्म दिन पनि परेको छ।

काठमाडौंको ईष्टपोल माध्यामिक विद्यालय, जोरपाटीमा आयोजित उक्त कार्यक्रममा उत्कृष्ट तीन जनालाई नगद रुपैयाँ क्रमशः २० हजार, १५ हजार र १० हजारसहित पुरस्कृतसमेत गरिएको थियो।

प्रतियोगितामा डीएभी सुशील केडिया स्कुलकी एरिका प्रजापति प्रथम, लिभरपुल स्कुलकी अन्शु वाग्ले द्वितीय र ईष्टपोल स्कुलकी प्रियन्शा कार्की तेस्रो भएका छन्।

विजयीहरूलाई फाउन्डेशनकी अध्यक्ष शान्ता शिवाकोटीले नगद तथा साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले प्रमाणपत्र प्रदान गरेका थिए।

फाउन्डेशनले नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित नेपाली भाषामा कविता लेखन तथा वाचन कार्यक्रम गर्ने गरेको अध्यक्ष शिवाकोटीले बताइन्। उनले यस किसिमको पुरस्कारले नयाँ पुस्तालाई नेपाली भाषा तथा साहित्यप्रति आकर्षित गर्नुका साथै उनीहरूलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा भाषाविद्, साहित्यकार, फाउण्डेशनका सल्लाहकार तथा सदस्यहरू, स्वर्गीय बालकृष्ण शिवाकोटीका परिवारका सदस्य, पत्रकार तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर