प्रेमप्रसादको आत्मदाह प्रकरणमा प्रहरीले लियो भाटभटेनीका सञ्चालकसँग बयान

संघीय संसद् भवन अगाडि आफैंलाई पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान लिइएको प्रहरी स्रोतले जनाएको छ।

आगो लगाउनुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको हो।

प्रहरी स्रोतका अनुसार आचार्यले आफूले पाउनुपर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरूमाथि सोधपुछ सुरु गरिएको हो। त्यही क्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङसँग बयान लिएको हो।

प्रेमप्रसादले भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहनु परेको तर उनीहरूले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरू मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए।

उनले भाटभटेनीले ३० प्रतिशत मार्जिन मागेको लगायतका विषयमा पनि उल्लेख गरेकाले त्यस विषयमा सोधपुछ गरिएको प्रहरीले जनाएको छ। उनीसहित आचार्यको स्ट्याटसमा उल्लेखित अन्य व्यक्तिसँग पनि सोधपुछ हुने प्रहरीले जनाएको छ।

अघिल्लो साता मंगलबार दिउँसो आफैंलाई आगो लगाएका प्रेमप्रसादको भोलिपल्ट बिहान ६ बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो। इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो।

उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियाे। मृत्यु हुनुअघि अस्पतालमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले उनीसँग भेट गरेकी थिइन्। त्यस क्रममा उनले आफ्नो कुरा कसैले नसुनेको बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *