झ्याल र ढोकाबाट सूचना दिँदैनौं : परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल मन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा श्रीलंका जाने भएकी छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो।

उनी बिहीबार श्रीलंकातर्फ प्रस्थान गर्ने भएकी हुन्। मन्त्री पौड्यालले श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री पौड्यालले मन्त्रालयका सूचनालाई झ्याल र ढोकाबाट नभइ सबैलाई एकमुष्ठ रूपमा दिइने बताइन्। उनले सबै सञ्चारकर्मीहरूलाई ह्वाट्सएप वा ईमेल ग्रुपबाट सूचना दिने प्रतिबद्धता जनाइन्।

उनले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताइन्। मन्त्री पौड्यालले आफूले पछिल्लो समय पोर्चुगलमा रहेका नेपालीहरूलाई पासपोर्टको समस्या परेकाले उनीहरूको समस्या समाधानका लागि तत्काल मोबाइल टिम पठाउने तयारी गरेको बताइन्। उनले परराष्ट्र नीतिका बारेमा पनि एकपटक विज्ञहरूसँग बसेर छलफल गर्ने कार्यक्रम बनाइरहेको बताइन्।

शुक्रबार मन्त्री पौड्यालले आफ्ना श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ। सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर