सेनाको क्षमता अभिवृद्धि र संगठनात्मक सुदृढीकरणमा सधैं सकारात्मक भूमिका रहनेछ : रक्षामन्त्री

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सैनिक मुख्यालय जंगी अड्डाको शुक्रबार परिचयात्मक निरीक्षण भ्रमण गरेका छन्। रक्षामन्त्रीमा नियुक्त भएपश्चात् उनले पहिलो पटक जंगी अड्डा पुगेर नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन्।

जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा मन्त्री उप्रेतीलाई नेपाली सेनाको संगठनात्मक स्वरूप, तैनाथीको अवस्था, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिहरूको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त रक्षामन्त्री उप्रेतीलाई बधाई ज्ञापन गर्दै नेपाली सेनाका सकलदर्जाको तर्फबाट जंगी अड्डामा स्वागत गरे। उनले नेपाली सेना सम्पूर्ण नेपालीहरूको आफ्नै छोराछोरीहरू सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको उल्लेख गर्दै सेनाले विधिसम्मत ढंगले प्राप्त जिम्मेवारीहरू समर्पित तवरले पूरा गर्दै देश र जनताको हितमा मरिमेटेर लागिपरिहेको बताए।

उनले बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिवेशहरूबाट सिर्जित चुनौतीहरू सम्बोधन, समाधान र न्यूनीकरण गर्न नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको बताए। त्यसमा नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट प्राप्त हुँदै आएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

प्रधानसेनापति शर्माले सरकारले नेपाली सेनालाई सुम्पिएका जिम्मेवारी एवं संविधानप्रदत्त दायित्वहरू निर्वाह गर्दा विद्यमान कानूनी प्रावधानहरू पूरा गर्दै अगाडि बढ्नुपर्ने मान्यतामा नेपाली सेना अडिग रहेको बताए।

कार्यक्रममा रक्षासचिव किरणराज शर्माले विपद् व्यवस्थापनलगायत नेपाली सेनाको समग्र क्षमता विकास गर्ने एवं नेपाली सेनालाई आत्मनिर्भर बनाउदै लैजाने कुरामा रक्षा मन्त्रालय र नेपाल सरकारको विशेष जोड हुनुपर्ने बताउँदै त्यसका लागि स्रोत साधनको व्यवस्था तथा आवश्यक कानूनी प्रावधान तयार गर्ने कार्यमा नवनियुक्त रक्षामन्त्रीबाट विशेष अग्रसरताको अपेक्षा गरेको बताए।

कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नो पहिलो जंगी अड्डा भ्रमणको दौरान नेपाली सेनाको बारे उपलब्ध गराएको जानकारीका लागि धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय एकीकरण अभियानको प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाइराख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिकाको प्रशंसा गरे। रक्षामन्त्रीले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पदै आएका थप दायित्वहरू निर्वाहमा अब्बल रहँदै आएको नेपाली सेना, नेपाल सरकार तथा नेपाली जनताको भरोसाको केन्द्रका रूपमा रहेको बताए। उनले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको चर्चा गर्दै हाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने देशहरूमध्ये दोस्रो भए तापनि विश्व शान्तिका लागि जोखिम वहन गर्ने एवं साहस प्रदर्शन गर्ने फौजमा नेपाली सेना सधैं अग्रपंक्तिमा रहेको र यसबाट आफू अत्यन्तै खुसी हुने गरेको उल्लेख गरे।

रक्षामन्त्रीले हरेक विपद्को घडीमा नेपाली जनताको साथमा रहँदै आएको नेपाली सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानहरूसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान दिँदै आएको बताए। उनले हालै बहुचर्चित राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको भन्दै आयोजना पूरा गर्ने क्रममा देखापरेका चुनौतीहरूलाई सम्बोधन गर्दै गुणस्तरीय ढंगले, छिटो कार्य सम्पन्न गर्न आफ्नो तर्फबाट सबै किसिमको सहयोग रहने विश्वास दिलाए। नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका निर्वाह गरिरहने कुरा बताउँदै उच्च हौसला सहित कर्तव्यपथमा समर्पित रहिरहन नेपाली सेनाका सकलदर्जालाई आह्वान गरे।

कार्यक्रमको आरम्भमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। त्यस अवसरमा रथीका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर