प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरू नेपाली सेनाको मेरुदण्ड हुन् : प्रधानसेनापति शर्मा

सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित दुई दिने प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक बुधबार सम्पन्न भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले बैठक समापन गरेका हुन्।

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरू युनिट तथा सबयुनिटहरूका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुका साथै नेपाली सेनाको मेरुदण्डको रूपमा रहँदै आएको बताए।

प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारहरूले प्रदर्शन गर्ने व्यावसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासबाट पल्टनको तयारी, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारीलगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन दिए।

प्रधानसेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यावहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त रायसुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिए।

नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नति हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार/ज्येष्ठ सुवेदार हो। पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा जिम्मेवार प्रमुख सुवेदार/ज्येष्ठ सुवेदारलाई नेपाली सेनामा अति महत्त्वपूर्ण नियुक्तिका रूपमा लिइन्छ। यस नियुक्तिमा रहने व्यक्तिहरूले सैनिक इकाइहरूमा अन्य दर्जा र अधिकृतको बीचमा समन्वयकर्ताको भूमिका निर्वाह गर्दछन्।

मंगलबार कार्यरथी उपरथी सागरबहादुर थापाले उद्घाटन गरेको समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत रथी सरोजप्रताप राणा, रथीहरू, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर