भारतको गणतन्त्र दिवसमा नेपाली राष्ट्रिय सेवा दलको परेड

भारतको ७४औं गणतन्त्र दिवसमा नेपालको राष्ट्रिय सेवा दल (एनसीसी)ले परेड प्रस्तुत गरेको छ। भारतले हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाउँदै आएको छ। नेपालबाट प्रतिनिधित्वका लागि प्रमुख सेनानी पूजा कार्कीको नेतृत्वमा गएका १६ जना क्याडेटले दिवसका अवसरमा नयाँ दिल्लीमा आयोजित भव्य समारोहमा परेड प्रस्तुत गरेका हुन्। सो टोलीमा ८ जना पुरुष र ८ जना महिला क्याडेट थिए।

नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार यस्तो परेडमा राष्ट्रिय सेवा दलका विद्यार्थीले अन्य देशका सेनासँग तालिम र संस्कृतिसम्बन्धी अनुभव साटासाट गर्छन्। नेपालमा पनि खासखास अवसरमा अन्य देशका सेनाले परेड प्रस्तुत गर्ने चलन रहेको उनले बताए।

नेपालको राष्ट्रिय सेवा दलको प्रतिनिधिमण्डल युथ एक्सेन्ज प्रोग्रामका लागि जनवरी १५ देखि ३० तारिखसम्म भारतमा रहेका थिए। त्यस क्रममा उनीहरूले गणतन्त्र दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूमा भाग लिए भने भारतीय राष्ट्रपति द्रौपदी मूर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहसँग अन्तरक्रिया पनि गरे। गणतन्त्र दिवस समारोहमा भारतका रक्षामन्त्री सिंहले राष्ट्रिय सेवा दललाई कदरस्वरूप मोमेन्टो प्रदान गरे।

गणतन्त्र दिवस समारोहमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। भारतको संविधान बनेपछि हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।

समारोहमा भारतका राष्ट्रपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री मोदी र रक्षामन्त्री सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू तथा हजारौं अन्य व्यक्तिहरूको उपस्थिति थियो।

भारतले हरेक वर्ष संविधान लागू गरेको दिन जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। सन् १९५० जनवरी २६ मा भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो।

बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ। भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर