सुरक्षा खतरा न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सेनालाई रक्षामन्त्रीको निर्देशन

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बाह्य र आन्तरिक सुरक्षा खतरा न्यूनीकरणका लागि तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन्।

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार ‘पृतनापति समन्वयात्मक बैठक-२०७९’ को उद्घाटन गर्दै रक्षामन्त्री उप्रेतीले सो निर्देशन दिएका हुन्।

उनले राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई अस्थिरताको भूमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गर्न क्रियाशील व्यक्ति वा समूहहरू राष्ट्रिय सुरक्षाका प्रमुख चुनौतीको रूपमा रहेको बताए।

उनले नेपाली सेनाले आफूलाई प्राप्त राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारीका साथै अन्य विविध दायित्वहरू प्रभावकारी तथा अनुकरणीय रूपमा सम्पादन गरेको भन्दै नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको प्रशंसा पनि गरे।

उनले निर्दिष्ट संवैधानिक दायित्वहरू सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वर्द्धन गर्न नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए। उनले नेपाली सेनाको दीर्घकालीन सोच-२०८७, नेपाली सेनाको सांगठनिक पुनर्संरचना-२०७८, नेपाली सेनाको सांगठनिक पुनर्संरचना-२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजनालगायत अन्य मार्गनिर्देशक दस्तावेजहरूबमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने उल्लेख गरे।

उनले प्रधानसेनापतिले संगठन सुदृढीकरणका लागि लिएका पहलकदमीहरूले नेपाली सेनाका सकलदर्जामा नयाँ उर्जा प्राप्त भई राष्ट्रिय भावना र देशभक्तिपूर्ण कार्यमा थप जाग्रित हुने विश्वास व्यक्त गरे। उनले कमाण्ड अवधारणा यथावत् राखी पुनर्स्थापित पृतनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताए। यस्तै नेपाली सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न करिडोरहरूको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने पनि बताए।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताए। उनले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कूटनैतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवं अन्य मानव सिर्जित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी नेपाली सेना हरहमेशा तयारी अवस्थामा रहनुपर्ने आवश्यकता रहेको बताए। त्यसका लागि सैनिक अपरेशनहरूमा सकलदर्जाको पेसागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरू सञ्चालन भइरहेको उनले बताए।

प्रधानसेनापति शर्माले विपद्ले विपत्ति मात्र निम्त्याउने नभई सुरक्षा फौजको प्रतिकार्य क्षमतासमेत परीक्षण गर्ने गरेको भन्दै हालै पोखरामा भएको दुःखद् हवाइजहाज दुर्घटनाको विपद् प्रतिकार्यमा रहेका कतिपय ग्याप्सहरू उजागर भएका र गत हप्ता टर्कीमा गएको विनाशकारी भूकम्पबाट उत्पन्न संकटले नेपालको विगतका तीता अनुभवहरूलाई फेरि झक्झक्याएको कुरा उल्लेख गरे। विपद् प्रतिकार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता रहेकाे उनले बताए।

प्रधानसेनापति शर्माले सुदृढ सुरक्षा व्यवस्था नै राष्ट्र विकास एवं दिगो राष्ट्रिय सुरक्षाको आधारशिला रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका बहुआयामीक पक्षहरूलाई सम्बोधन, समाधान तथा न्यूनीकरण गर्न नेपाली सेनाको समयसापेक्ष आधुनिकिकरण हुन अपरिहार्य रहेको बताए। उनले त्यसका लागि ‘नेपाली सेनाको दीर्घकालीन सोच (एनए भिजन)-२०८७’ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन नेपाल सरकार, रक्षा मन्त्रालयका तर्फबाट विशेष पहल र सहयोगको निरन्तरता रहने विश्वास प्रकट गरे।

उनले राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्व बोकेका काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना तथा विभिन्न करिडोरहरू यथाशिघ्र सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराउँदै बंकर टु ब्यारेक कार्यक्रम, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, सामूहिक हताहत उपचार केन्द्र (एमसीटीसी) लगायतका महत्त्वपूर्ण योजनाहरूको सफल कार्यान्वयनको लागि नेपाल सरकारबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

आठवटै पृतनाका पृतनापतिहरूलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू तथा सम्बन्धित बाहिनीपतिहरूको उपस्थिति रहेको उक्त दुई दिने समन्वयात्मक बैठकमा सहभागीहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।

आज आयोजित समुद्घाटन कार्यक्रममा रक्षासचिव किरणराज शर्मालगायत रक्षा मन्त्रालयका अधिकारीहरू उपस्थित थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर