पूर्वसई तेजबहादुर थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

नेपाल प्रहरीका अवकाशप्राप्त नायब निरीक्षक (सई) तेजबहादुर थापाले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पाएका छन्।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६७औं वार्षिकोत्सव समापन कार्यक्रममा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उनलाई सो अवार्डबाट सम्मान गरेका हुन्। अनवरत रूपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो।

यसैगरी उनले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायब निरीक्षक प्रदिप थापालाई कदरपत्र प्रदान गरे। साथै उनले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गरे।

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०७९’ को लोकार्पण गरे।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गरे। वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उनले बताए।

प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पीजीडीपीएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उनले अब छिट्टै ‘मास्टर इन पुलिस साइन्स’ कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गरे। प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समयअनुकूल प्रशिक्षार्थीहरूको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उनले निर्देशनसमेत दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर