नेपाल-भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक सुरु

नेपाल-भारत परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक सुरु भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतीमा नेपालका परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच बैठक बसिरहेको हो।

सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। सो अवसरमा उनीहरूबीच  कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुनेछ।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वात्रा सोझै होटल याक एण्ड यती गएका हुन्। त्यसअघि उनलाई विमानस्थलमा सचिव पौड्याल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए।

क्वात्रा मंगलबार स्वदेश फर्कर्नेछन्। त्यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, राजनीतिक दलका शीर्ष नेताहरू र सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीसँगको भेटमा उनले प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणासमेत दिनेछन्।

विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राकाे यो पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ। यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ। यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर