ओलीलाई सत्ता गठबन्धन भत्किने डर

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन भत्किने आशंका व्यक्त गरेका छन्।

मंगलबार अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारूढ गठबन्धन भत्किने आशंका व्यक्त गरेका हुन्। उनले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेको भन्दै गठबन्धन भत्किने शंका व्यक्त गरेका हुन्।

उनले देशभित्रका र बाहिरका शक्तिहरू देशलाई बर्बाद पार्न लागेको बताए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनलेसबैभन्दा पहिले एमालेलाई प्रहार हुन सक्ने बताए। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेको बताए।

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए। कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए।

उनले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्ने बताए। कुनै पनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरूलाई आग्रह गरे।

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुने विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरू भर्खरै सिक्दै गरेका भनी टिप्पणी गरे। उनले नेविसंघलाई अनेरास्ववियुले जहिल्यै पनि छक्का हान्दै आएको बताए।

अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्त्वाकांक्षा बोक्न नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *